कोलम्बस, ओहायो (अमेरिका) ,माघ ७ । प्रवासी नेपाली मञ्च (ओएनएफ) ओहायो राज्य कमिटीको दोस्रो अधिवेशन ओहायोको कोलम्बस शहरमा भब्यताका साथ सम्पन्न भएको छ ।
ओएनएफ ओहायो राज्य कमिटी अध्यक्ष बिजय बुढाको अध्यक्षता एवं ओएनएफ अन्तराष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा अमेरिका महादेश ईन्चार्ज प्रभु थापाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले बिजय थापाको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा सन्तोषी खडका, सचिवमा प्रविन बुढा, उपसचिवमा अमृत ढकाल र कल्पना पयाङ्गुलाई चयन गरेको छ । यसैगरी सदस्यहरुमा बिनोद विक, मनोजकुमार बुढा, प्रशान्त थापा, रोजन केसी, मनिष ढकाल, सचिन ज्ञवाली, सपन चापागाई र आकाश खनाल चयन हुनुभएको छ ।
अधिवेशनलाई सम्वोधन गर्दै प्रमुख अतिथि ओएनएफ सचिवालय सदस्य थापाले कर्मभूमि अमेरीकामा रहेर जन्मभूमि नेपालको सम्वृद्धिका लागि काम गर्ने संस्था ओएनएफ भएको र बिगतका कोरोना, भुकम्पलगायत विपदमा ओएनएफले नेपालमा मानव जीवन बचाउन लगायत गरेका कामहरुको चर्चा गर्दै प्रवासी नेपालीहरुको भावनालाई सम्मान गर्ने र नेपाली नागरिकताको निरन्तरताको विषयमा लविङ्ग गरिरहेको बताउनु भयो ।
अधिवेशनको उद्घाटन समारोहमा महावाणिज्यदूत डा.दामोदर पौडेल, ओएनएफ अमेरिका महादेश कमिटी सदस्य केशवराज लोहोनी, ओएनएफ अमेरीका राष्ट्रिय कमिटी उपाध्यक्ष गोपाल कँडेल, सचिव छबि पाण्डे, उपसचिव थोमस बास्तोला र गोविन्द खनाल, सचिवालय सदस्य दुर्गा बिक, आमन्त्रित सचिवालय सदस्य विजय बगाले, सदस्य जीएस खनाल, एनआरएनए एनसिसी अमेरीका सचिव दिपक सापकोटा, एनआरएनए ओहायो च्याप्टरका अध्यक्ष होताराम विक, ओेएनएफ केन्टुकीका उपाध्यक्ष अनुप बस्नेतलगायत स्थानीय सामाजिक संघ, संस्थाका प्रतिनिधिहरुले शुभकामना दिदै ओएनएफ ओहायोले सञ्चालन गरेको संगठन विस्तार तथा सामाजिक कामहरुको प्रसंशा गर्नुभएको थियो ।
बक्ताहरुले ओएनएफ ओहायोकै अब्बल संस्थाका रुपमा निकै छिटो स्थापित भएकोमा खुसी ब्यक्त गर्दै सामाजिक काममा हातेमालो गर्न आग्रह समेत गर्नुभएको थियो । अधिवेशनमा ओहायोमा बस्दै आउनुभएका नेपाल र अमेरीकाबीचको सम्वन्धलाई मजबुद बनाउन क्रियाशील, ख्याति प्राप्त सामाजिक ब्यक्तित्व एवं ओहायोका लागि नेपाल सरकारबाट नियुक्त महावाणिज्यदूत डा.दामोदर पौडेललाई प्रवासी नेपाली मञ्च ओहायोको तर्फबाट प्रमाणपत्रसहितको सम्मान गरिएको थियो ।
त्यसैगरी अधिवेशनका लागि आर्थिक सहयोग गर्नुहुने युवा उद्यमी नेपाली रियल इस्टेट डेभलपमेन्ट फण्ड कर्पाेरेशनका बोर्ड सदस्य तथा रियल इस्टेट इन्भेष्टर पुजय थापा, जीटुएस कन्सल्टिङका प्रोपाइटर गोबिन्द कार्की, र लक्ष्मी ज्वेलर्सका सञ्चालक भिषण अधिकारीलाई सम्मान गरिएको थियो ।
अधिवेशनले पहिलो कार्यकालको अठार महिनामा सम्पन्न गरेका सामाजिक तथा सांगाठानिक गतिविधि र आगामी कार्ययोजना सहितको पाँच पृष्ठको प्रतिवदेन पारित गरेको छ । अधिवेशनको सञ्चालक सचिव लोकनारायण थापाले गर्नुभएको थियो भने स्वागत मन्तब्य उपसचिव बिजय थापाले गर्नुभएको थियो ।
कार्यक्रमका अध्यक्ष बुढाले आफ्नो कार्यकाल र अधिवेशन सफल बनाउन सहयोग गर्नुहुने सवै पक्षलाई धन्यवाद दिदै आगामी दिनहरुमा ओएनएफमार्फत अझ सशक्त ढंगले सामाजिक गतिविधिमा सक्रिय हुने प्रतिवद्धता ब्यक्त गर्नुभयो । नव निर्वाचित अध्यक्ष थापाले नयाँ कमिटी ओएनएफको सांगाठानिक तथा गैर नाफामूलक सामाजिक संस्थाको उदेश्य अनुरुप ओहायोमा क्रियाशील हुने प्रतिवद्धता जनाउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्