जनता टाइम्स

८ माघ २०८१, मंगलवार १८:११

राष्ट्रिय आर्टिफिसियल ईन्टेलिजेन्स नीति दिर्घकालीन र प्रभावकारी बनाउन लागेका छौँ : मन्त्री गुरुङ


काठमाडौं, माघ ८ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयले तयार पारेको ‘राष्ट्रिय आर्टिफिसियल ईन्टेलिजेन्स नीति, २०८१’ मस्यौदामा एआइका क्षेत्रमा काम गरेका विज्ञहरु र सरोकारवालाहरु व्यापक छलफल पश्चात प्रभावकारी र दिर्घकालीन नीति बनाउने तयारी भइरहेको बताउनुभयो ।

सञ्चार मन्त्रालयमा आज मन्त्री गुरुङ लगायत मन्त्रालयका सह–सचिवहरु र एआइ सम्बन्धी काम गर्ने विज्ञहरुमाँझ आज मन्त्रालयमा मस्यौदा उपर सुझाव सहितको छलफल प्रस्तुत गरिएको थियो ।
एन हब संस्थाका संस्थापक दिलीप भट्टराईले मन्त्रालयले तयार पारेको एआइ सम्बन्धी नीति मस्यौदामा सुझाव सहितको कार्यपत्र प्रस्तुत गर्नुभयो ।

मस्यौदामा भट्टराईले एआइको भविष्य, चनौति र अवसरबारे बुँदागत रुपमा थप सुझाव दिनुभयो । एआई सम्बन्धी विज्ञहरुले बन्दै गरेको एआई नीतिमा डाटा सुरक्षा र गोपनीयताको विषयबारे सरकारको ध्यानार्कषण गराएका छन् ।

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले एआई क्षेत्रको लागि आवश्यक पर्ने सबै बँुदाहरु न छुटिने गरि मस्यौदामा समावेश गर्न आवश्यक रहेको बताउनुभयो ।

‘एआइ नीति अहिलेको आवश्यकता हो त्यसैले अलि मिहेनत गर्नुपर्ने छ”, मन्त्री गुरुङले,“धेरै लामो पनि न बनाउने र धेरै छोटो बनाउने भन्दै विषय बस्तु छुटाउनु हुँदैन । गहन र विस्तृत नीति ल्याउनुपर्छ ।’

छलफलका क्रममा मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरले मन्त्रालयले एआईको नीति बलियो बनाउन अब सरोकारवाला माझ पुग्ने बताउनुभयो ।

अहिले सम्म विज्ञहरुको सुझाव दिइएको र अब छिट्टै सरोकारवालामाझ मस्यौदाका विषयमा छलफल गर्ने तयारी भएको उहाँले बताउनुभयो ।

मन्त्रालयका सह सचिव अनिल कुमार दत्तले एआई नीति सबैको आवश्यकता र चासोको विषय भएकाले प्रभावकारी नीति बनाउन मन्त्रालय सक्रिय रहेको बताउनुभयो ।

त्यस्तै, मन्त्रालयका सूचना प्रविधि विज्ञ डा.शालिग्राम पराजुलीले एआई क्षेत्रलाई ‘अटोनमस बडी’ को रुपमा लानुपर्ने बताउदै जनस्तरबाट प्राप्त सुझावको भावना अनुरुप नीति तयार पारिने बताउनुभयो ।