मलेसिया, माघ १० । प्रवासी नेपाली मञ्च (ओएनएफ) मलेसियाले सेल्टर हाउस ब्यवस्थापनको अवधारणा अघि सारेको छ । ओएनएफ मलेसियाका अध्यक्ष दयाराम कुमालले सन २०२५ को कार्ययोजना अन्तर्गत सेल्टर हाउस ब्यवस्थापनको अवधारणा घोषणा गर्नुभएको हो ।
मलेसिया राष्ट्रिय कमिटीको नेतृत्व लिएसँगै श्रमिकको हितमा काम केन्द्रित गर्ने अठोट गर्नुभएका अध्यक्ष कुमालले थारु कल्याणकारी सभाले आयोजना गरेको कार्यक्रममा संगठनको निर्णयअनुसार सेल्टर हाउस सञ्चालन र ब्यवस्थापनलाई यस बर्षको मुख्य कार्ययोजना बनाइएको घोषणा गर्नुभयो ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी प्रमुख अतिथि र मलेसियाका लागि नवनियुक्त राजदूत डा. नेत्रप्रसाद तिमल्सिना विशेष अतिथि रहनुभएको कार्यक्रममा अध्यक्ष कुमालले प्रवासी नेपाली मञ्चले बिगतका दिनमा नेपाली राजदूतवाससँगको समन्वयमा पिडीतहरुका लागि नेपाल फर्किने एकतर्फी हवाई टिकट उपलब्ध गराउने गरेको जानकारी पनि गराउनु भयो ।
उहाँले भन्नुभयो, प्रवासी नेपाली मञ्चले ‘पिडीत श्रमिक उद्धार कोष’ स्थापन गरी दुःख, पीडामा परेका श्रमिकहरुलाई सहयोग गर्दै आइरहेको छ । उद्धारको क्रममा पहिलो त खाने र बस्ने कै समस्या हुने देखिएकोले तत्कालका लागि सेल्टर हाउसको ब्यबस्थापन नगरी नहुने देखियो । जसको लागि जिफण्ड, पिएनसिसि लगायतका संस्थाहरुसंगको सहकार्यमा निकट भविश्यमा नै सेल्टर हाउसको ब्यबस्था मिलाउने घोषणा मञ्चले गर्दछ ।′
प्रवासी नेपाली मञ्चले गरेको उक्त घोषणालाई युवा तथा खेलकुद मन्त्री चौधरी र राजदूत तिमल्सिनासहित विभिन्न संघ–संंस्थाका प्रतिनिधिहरुले समर्थनसहित धन्यवाद दिनुभएको छ । प्रवासी नेपाली मञ्च मलेसियाले यो कामलाई परिणाममुखी बनाउन बिभिन्न योजनासमेत अघि सारेर अभियान थालिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्