जनता टाइम्स

८ कार्तिक २०७६, शुक्रबार ००:००

भाडादर निर्धारण वैज्ञानिक बनाउन अध्ययन शुरु


काठमाडौं, कात्तिक ८

सरकारले सार्वजनिक यातायातको भाडादर निर्धारणलाई वैज्ञानिक बनाउन अध्ययन शुरु गरेको छ । अहिलेसम्म ३५ प्रतिशत पेट्रोलियम पदार्थ र ६५ प्रतिशत जनशक्तिवापत लाग्ने खर्च र सवारीसाधनमा प्रयोग हुने उपकरणलगायतलाई आधार बनाएर भाडादर निर्धारण हुँदै आएकामा यही आधार ठीक हो–होइन भनी निक्र्यौल गर्न अध्ययन थालिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

एक दशक पहिलेदेखि शुरु भएको भाडादरको आधारमा पुनरावलोकन गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । उहाँले भन्नुभयो, “केही महीनाभित्रमा त्यसको अध्ययन हुनेछ ।” अहिलेसम्म सरकारले १८सूचकलाई आधार बनाएर भाडा निर्धारण गर्दै आएको थियो । ती सूचकहरु बढ्न वा घट्न सक्ने उहाँको भनाइ थियो ।

भाडा निर्धारण सूचकमा पुनरावलोकन भएपछि मात्रै भाडा समायोजन गरिने महानिर्देशक हमालले बताउनुभयो । यातायात व्यवसायी महासङ्घले सरकारले समय–समयमा भाडा समायोजन गर्नुपर्नेमा जोड दिँदै आएको थियो । पेट्रोलियम पदार्थका मूल्यलाई आधार बनाएर भाडा समायोजन भए पनि सवारी साधनका उपकरण र जनशक्तिको सुविधाका आधारमा लामो समयसम्म भाडादर समायोजन हुन नसकेको बताइएको छ ।