जनता टाइम्स

१३ माघ २०८१, आईतवार १५:२३

हुलाक सेवा विभागलाई प्रविधिमैत्री बनाइने


काठमाडौं, माघ १३ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवा विभागलाई प्रविधिमैत्री बनाइने बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज हुलाक सेवा विभागले आयोजना गरेको ‘एक स्थानीय तह एक हुलाक’ कार्यालय स्थापना घोषणा कार्यक्रमको उद्घाटन गर्दै उहाँले हुलाकको नीति परिवर्तन आवश्यक रहेको बताउनुभयो । मुलुक रुपान्तरणसँगै नीति र विधि फेरिन नसक्दा विकास ओझेलमा परेको धारणा उहाँले राख्नुभयो ।

उहाँले यो वर्षभित्र पुराना सबै नीति र ऐन संशोधन गरेर समायानुकूल बनाउनमा गम्भीरताका साथ लागेको जानकारी दिनुभयो । हुलाक सेवा निकै पुरानो र महत्त्वपूर्ण भएकाले यसलाई आधुनिकीकरण गरी प्रविधि मैत्री बनाउन जरुरी रहेको उहाँको भनाइ छ । ‘अब हुलाकको नीति परिवर्तन हुन्छ’, मन्त्री गुरुङले भन्नुभयो,‘हुलाकलाई प्रविधिमैत्री बनाउने विषयमा मन्त्रालय सधैँ संवेदनशील छ ।’ सो कार्यक्रममा स्थानीय तहका हुलाक कार्यालयका कर्मचारी सहभागी थिए ।

मन्त्री गुरुङले हुलाक जनसेवामुखी बनाउन कर्मचारीहरुलाई आग्रहसमेत गर्नुभयो । ‘हुलाक सेवाको प्रभावकारिता केन्द्रमा रहेको गोश्वारा हुलाक कार्यालयबाट सुरु गर्नुहोस्, अरु स्थानीय तहका हुलाक कर्मचारीले आ–आफ्नो क्षेत्रमा सेवा प्रभावकारी बनाउनुहोस्’, उहाँले भन्नुभयो । सो कार्यक्रममा हुलाक विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले गोश्वारा हुलाक कार्यालयको अवस्था र स्थानीय तहका हुलाक कार्यालयको सुधारका चुनौती तथा कार्य योजनामन्त्रीसमक्ष जानकारी गराउनुभएको थियो ।