जनता टाइम्स

८ कार्तिक २०७६, शुक्रबार १६:०७

भूमिमन्त्री पद्मा अर्यालको निश्कर्ष : द्रुतगतिमा भत्किदैछन नेपाली समाजमा विभेदका पर्खालहरू


काठमाडौं, ८ कार्तिक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले विभेदका पर्खालहरू द्रुतगतिमा भत्किदै गएको बताउनुभएको छ । मानवअधिकारका लागि महिला, एकल महिला समुहद्वारा सञ्चालित हाम्रो आधार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौं वार्षिक साधारणसभालाई आज काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले महिलाका प्रगतिका बाधक विभेदका पर्खालहरू भत्किदै गएको बताउनुभएको हो ।

‘समाजमा रहेको विभेदहरू कम हुदै गएको प्रसंगमा महिलाहरूमाथीको सामाजिक, आर्थिक, धार्मिक एवं सांस्कृतिक विभेदहरू कम हुदै गएका छन’, मन्त्री अर्यालले भन्नुभयो । हिजो परनिर्भर बनेका महिलाहरू आज आत्मनिर्भर बन्नेतर्फ अगाडी बढिरहेको भन्दै उहाँले सिप सिकेर आत्मनिर्भर बन्ने अभियानमा दह्रो संकल्प सहित अगाडी बढ्न आग्रह गर्नुभयो । घरभित्र बस्ने महिलाहरू व्यवसायी बन्दै गएको भन्दै उहाँले यस्ता गतिविधिले गौरवको अनुभूति हुने बताउनुभयो ।

मन्त्री अर्यालले सीप सिकेर व्यवसायिकतामा जान जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘अबको बाटो उत्पादन, ब्यवसायिकताकै बाटो हो । कृषिमा काम गर्नेहरूले जमिन एकैठाउँमा एकिकरण गरेर व्यवसायिक रूपमा सामुहिकतामा ठूला फार्महरू सञ्चालन गरौं ।’ यी कुराहरूलाइ सरकारले प्रोत्साहन गर्ने मन्त्री अर्यालले बताउनुभयो । महिला आन्दोलन उत्साहित हुनुपर्ने ठाउँमा भएको भन्दै उहाँले अबको जमाना आत्मनिर्भरता, सीपको, क्षमताको जमाना भएकोमा जोड दिनुभयो । संस्थालाई आधार मानेर समृद्धिको दिशामा अगाडी बढ्न आग्रह गर्दै उहाँले यही बाटोबाट नै महिलाहरू आत्मनिर्भर हुन सक्ने बताउनुभयो ।

चुनौतीहरू थुप्रै भएपनि ती चुनौतीहरूलाई जितेर अगाडी बढ्नुपर्ने उहाँको भनाइ थियो । हिजो एकल महिलाको जीवन अत्यन्तै कष्टकर अवस्थाबाट माथि उठेको भन्दै उहाँले लिली थापाले शुरू गरेको अभियान देशभरका सबै महिलाहरूले समर्थन गरेका कारण आज सफलता प्राप्त गरेको बताउनुभयो । समाजमा रहेका महिलालाई विभेद गर्ने सबै कुराहरू खोजी(खोजी त्यसको अन्त्य गर्नुपर्ने उहाँले बताउनुभयो । अब यहाँ भएका महिलाहरूको जीवनस्तर माथि उठाउन अभियानले प्रसंशनीय काम गरेको भन्दै उहाँले सरकार उक्त कार्यप्रति नतमस्तक रहेको बताउनुभयो । महिला हिजोपनि कमजोर नभएको र आजपनि कमजोर नभएको भन्दै मन्त्री अर्यालले हाम्रा मूल्यमान्यता, सोचहरूले कमजोर बनाइएको बताउनुभयो ।