काठमाडौं, माघ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयास अपरिहार्य भएको निश्कर्ष सुनाउनु भएको छ ।
सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस २०८१ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस्तो निश्कर्ष सुनाउनु भएको हो । प्रधानमन्त्री ओलीले सम्पत्ति शुद्धीकरण निवारण प्रणालीमा आबद्ध सूचक संस्था, नियामक निकाय, कानुन कार्यान्वयन गर्ने निकाय र न्यायिक निकायसमेतको समन्वयमा जोड दिनुभयो ।
‘अपराधजन्य कार्यबाट प्राप्त सम्पत्तिको प्रवेश वित्तीय प्रणालीमा हुन नदिई वित्तीय स्वच्छता कायम गर्न सम्पत्ति शुद्धीकरण निवारण प्रणालीले प्रभावकारी रूपमा काम गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ ।
उहाँले सन्देशमा सम्पत्तिको आपराधिक उपयोगबाट अर्थतन्त्रका साथै शासकीय स्वच्छतामा नै चुनौती खडा हुने उल्लेख गर्नुभएको छ । यसको निवारणमा थप प्रभावकारिता वृद्धि गर्दै आगामी दिनमा वित्तीय स्वच्छता कायम गर्न दिवसले प्रेरणा दिने बिश्वास पनि प्रधानमन्त्री ओलीको छ । उहाँले असल मनसायका साथ आफ्नो पेसा, व्यापार, व्यवसाय गर्नु हुने सबैमा विचलित नभई व्यावसायिक एवं पेशागत जीवन निर्धक्क भई काम गर्न आग्रह गर्नुभएको छ ।
‘वित्तीय क्रियाकलापमा पारदर्शिता सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आयोजनामा पहिलो पटक यो दिवस मनाइएको हो ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ जारी भएको अवसर पारेर नेपाल सरकारले यस वर्षदेखि प्रत्येक बर्ष माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्