संखुवासभा, माघ १४ । छिमेकी मित्रराष्ट्र चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको जोगवनी–किमाथांका सडक ’ब्रेक थ्रु’ भएको छ । चीन र भारत जोड्ने नेपालको राष्ट्रिय गौरवको खाँदवारी–किमाथांका सडक छिचोलिएपछि सडक सञ्जालमा जोडिएको हो ।
ऊर्जामन्त्री दीपक खड्काले नेपाली सेनाले चट्टानी भीर फुटाइसकेपछि कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथांका सडकको च्याम्तांग–घोङघोप्पा खण्डको साढे १० किलोमिटर सडक पूरा भएको जानकारी दिनुभयो ।
ऊर्जामन्त्री खड्का भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई र पूर्वसांसद राजेन्द्र गौतमसमेतको टोली घोङघोप्पा पुगेर ’ब्रेक थ्रु’ गर्नुभएको हो । यससँगै सडकको स्तरोन्नति र चौडा बनाउने काम पनि अघि बढाइने मन्त्री खडकाले जानकारी दिनुभयो । सो खण्डमा सेनाले डबल ल्याण्डको १० दशमलव ५ किलोमिटर सडक निर्माण पूरा गरिसकेको छ ।
यस्तै सदरमुकाम खाँदबारीबाट च्याम्तांगसम्मको १ सय ३४ किलोमिटर सडक निर्माण भइसकेको छ । यसअघि नै किमाथांकाबाट घोङघोप्पासम्म १४ किमि सडकको कच्ची ट्याक खुलेको थियो । खाँदबारी–किमाथांका सडकको दूरी १ सय ५८ किलोमिटर रहेको उत्तर दक्षिण कोशी सडक योजनाले जनाएको छ ।
त्रीदेशीय सडक सञ्जालको ‘ब्रेक थ्रु’ पछि एमाले स्थायी कमिटी सदस्यसमेत रहनुभएका पूर्वसांसद राजेन्द्र गौतमले खाँदबारी–किमाथांका सडक जोडिएसँगै त्रिदेशीय पारवहनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो । त्रिदेशीय नाका जोड्ने उक्त सडक सञ्चालनमा आएपछि नेपाल, भारत र चीनका अलावा बंगलादेशले फाइदा लिन सक्ने उहाँको भनाई छ । यस्तै उहाँले सडक स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गर्न भौतिक पूर्वाधार मन्त्रालयसहित सम्वद्ध सवैलाई आग्रह पनि गर्नुभयो ।
रक्षा मन्त्री राईले नेपाली सेनाद्वारा निर्माण भइरहेको उक्त सडक मुलुक विकासमा महत्त्वपूर्ण पूर्वाधारका रूपमा रहेको बताउनु भयो ।समयअगावै सडकको ट्याक खोल्ने काम सम्पन्न भएको भन्दै उहाँले नेपाली सेनालाई धन्यवाद पनि दिनुभयो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले उक्त सडक खण्डको बाँकी काम सम्पन्न गर्नका लागि बजेटको अभाव हुन नदिने प्रतिवद्धता जनाउनु भयो । मन्त्री दाहालले उक्त सडक खण्डमा पर्ने पुल निर्माणका लागि सरकारले आवश्यक बजेट विनियोजन गर्ने जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्