जनता टाइम्स

१४ माघ २०८१, सोमबार १९:५६

अर्थ मन्त्रालयले भन्यो : अमेरिकाको अनुदानमा सञ्चालित परियोजनामा थप दायित्व सिर्जना नगर्नू


काठमाडौं, माघ १४ । अमेरिकी सहयोग निकाय यूएसएडको अनुदानमा सञ्चालन भइरहेको ४ वटा आयोजनाको काम रोक्दै थप दायित्व सिर्जना नगर्न अर्थ मन्त्रालयले पत्राचार गरेको छ ।

यूएसएडले ४ वटा आयोजनामा प्राप्त अनुदान सहयोग ९० दिनका लागि रोकिएको पत्र पठाएपछि अर्थ मन्त्रालयले ती आयोजनामा थप दायित्व सिर्जना नगर्न परिपत्र गरेको हो । यूएसएड र नेपाल सरकारबिच सन २०२२ मे ५ मा हस्ताक्षर भएको डेभलपमेन्ट अब्जेक्टिभ एग्रिमेन्टबाट सञ्चालन भएको ४ वटा आयोजना रोकिएको हो ।

यूएसएड स्वास्थ्य, यूएसएड कृषि, यूएसएड शिक्षा र यूएसएड समावेशी नीतिसम्बन्धी प्रत्यक्ष वित्तीयकरण परियोजनाका लागि दिइएको अनुदान रोकिएको हो। डोनाल्ड ट्रम्प नयाँ राष्ट्रपति आएलगत्तै अमेरिकाले दिने अनुदान विश्वभर कटौती गरिएको छ ।

‘यूएसएडले ४ वटा आयोजनाको अनुदान सहयोग तत्काल ९० दिनका लागि स्थगित गरेको छ । ९० दिनको अवधिमा स्थगित भएका आयोजनाअन्तर्गत यूएसएड स्रोततर्फ कुनै दायित्व सिर्जना गर्ने कार्य नगर्न सम्बन्धित सबै सम्बद्ध निकायहरुलाई जानकारी गराइएको छ’, अर्थ मन्त्रालयले भनेको छ ।