जनता टाइम्स

८ कार्तिक २०७६, शुक्रबार १७:४३

एन्फालाई लाग्यो अहिलेसम्मकै ठुलो जरिवाना, नतिरे प्रतिबन्ध लगाउने चेतावनी


काठमाडौं, कात्तिक ८

एशियन फुटबल फेडेरेशन(एएफसी)ले अखिल नेपाल फुटबल संघलाई ३५ हजार अमेरिकी डलर जरिवाना गरेको छ । एएफसीले मुख्य प्रशिक्षक विष्णु गुरुङमाथि पनि एक हजार अमेरिकी डलरको जरिवाना तोकेको छ ।

मलेसियाको क्वालालाम्पुरमा एएफसीको अनुशासन तथा आचारसंहिता समितिको मंगलबार र बुधबार बसेको बैठकले नेपाललाई उक्त राशी बराबरको जरिवाना तोकेको हो । एएफसीले मापदण्ड नपुर्याई क्लबहररूलाई अनुमति वितरण गरेको भन्दै एन्फामाथि ३५ हजार डलरको जरिवाना गरेको छ । एएफसी कप २०१९ मा नेपालले अनियमित तवरले अनुमति वितरण गरेको एएफसी अनुशासन समितिको तर्क छ ।

ऐन बमोजिम नेपालले जरिवाना वापतको रुपियाँ दुईवर्षभित्र जम्मा नगरे निलम्बन हुँदै प्रतिबन्ध सम्म लाग्न सक्ने एएफसीको निर्णयमा सचेत गराइएको छ । पछिल्लो सिजनमा मनाङ मस्र्याङ्दी क्लबले लिग च्याम्पियनको हैसियतमा नेपालको प्रतिनिधित्व गरी एएफसी कप २०१९ खेलेको थियो । समूह चरणबाटै बाहिरिएको मनाङलाई एन्फाले मापदण्ड विपरित खेल्न मान्यता दिएको एएफसीले ठहर गरेको छ । मान्यता पाउन आफ्नै मैदान, एकेड्मी, प्रवक्ता लगायतको व्यवस्था गरिएको छ ।

त्यसैगरी, एएफसीले एएफसी फुटसल च्याम्पियनशिप २०२० को छनोट खेलको ताजिकिस्तान विरुद्धको खेलमा प्रशिक्षक विष्णु गुरुङले अनुशासन उल्लंघन गरेकोमा एक हजार अमेरिकी डलरको जरिवाना तोकेको छ । उहाँमाथि एक खेलको लागि निलम्बन गरिएको एएफसीले जनाएको छ ।