जनता टाइम्स

८ कार्तिक २०७६, शुक्रबार २२:२३

कावा प्रधानमन्त्री पोखरेलले राखे सरकारका यी उपलब्धी


बिराटनगर, कात्तिक ८ । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले सरकार चुनावदेखि चुनावसम्मको मापन नगरी देश निर्माणमा जुटिरहेको तथ्य राख्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङ जिल्ला कार्य समितिले आज आयोजना गरेको शुभाकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारको पहिलो वर्ष आधार वर्ष भएको र अब सरकार देश र जनताका सेवामा लागि पर्ने बताउनुभयो ।

आधार वर्षमै ३८० कानून निर्माण भइसकेको जानकारी दिँदै उहाँले यसपछि दिइने सेवाका लागि कानूनको संरचना निर्माण भइरहेको धारणा व्यक्त गर्नुभयो । “सरकारले भूमि, कृषि र शिक्षा नीति बनाई सामाजिक सुरक्षा र औद्योगिक क्षेत्रमा काम गरी प्रशस्त रोजगारी सिर्जना गर्ने बाटोतर्फ अग्रसर छ,” कावा प्रधानमन्त्री पोखरेलले भन्नुभयो, “सरकारले जलविद्युत्, व्यापार वृद्धि, कृषिलाई व्यवस्थित गरी आधुनिकीकरणतर्फ कदम चालिसकेको छ ।”

नेकपाका सचिवालय सदस्यसमेत रहनुभएका कार्यवाहक प्रधानमन्त्री पोखरेलले दुईवटा धार भएका कम्युनिष्ट पार्टीको एकताले पार्टीलाई नयाँ उचाइमा पुर्याएको बताउनु भयो । पार्टीको स्वार्थ विशेषले नभई देश र जनताको आवश्यकताका आधारमा एकता भएको हो, पोखरेलले भन्नुभयो । उहाँले महान एवं ऐतिहासिक यो एकताले नेपाली जनताको भविष्य उज्ज्वल पार्नेमा पनि जोड दिनुभयो ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले जनताको सुख र खुशीका लागि घरदैलोसम्म पुर्याउन दत्तचित भएर काम गरिरहेको छ भन्नुभयो । नेपाल कम्युनिष्ट पार्टी९नेकपा० प्रदेश नं १ इन्चार्ज भीम आचार्यले सङ्घीयता विकासको आधार भएकाले कम्युनिष्ट एक भएर अघि बढ्नुपर्छ भन्नुभयो ।