जनता टाइम्स

१९ माघ २०८१, शनिबार १७:५३

ढिस्कोमा पुरिएर एकजनाको मृत्यु


जुम्ला, माघ १९ । जुम्लामा माटोको ढिस्कोमा पुरिएर आज एकजनाको मृत्यु भएको छ । घर लिपपोत गर्न माटो ल्याउन गएकी चन्दननाथ नगरपालिका–६ की २५ वर्षीया विमला सुनारको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक छेदिलाल कामतीले जानकारी दिनुभयो ।

चन्दननाथ–४ मालाभिडमा माटो निकाल्दै गर्दा एक्कासी ढिस्को खसेपछि उहाँ पुरिनुभएको हो । विमला गाउँकै ६ जनाको समूहमा माटो ल्याउन जानुभएको थियो । उहाँको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।