जनता टाइम्स

२० माघ २०८१, आईतवार १६:२८

तथ्यले नै देशको अर्थतन्त्र बिस्तारै सुधार हुँदै गएको तस्वीर देखाएको छ : डा. पुष्प कँडेल


रामेछाप, माघ २० । नेकपा एमाले केन्द्रीय लेखा आयोग अध्यक्ष डा. पुष्पराज कँडेलले नेपालको अर्थतन्त्र बिस्तारै सुधार हुँदै गएको बताउनुभएको छ ।

नेकपा एमाले रामेछापले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै कँडेलले सरकारले गरेका क्रियाकलापको कारण निजी क्षेत्रलाई उत्साहित गरेको उहाँले बताउनुभयो । यसले अर्थतन्त्रलाई चलायमान गराउने थप सहयोग गर्न कँडेलको विश्वास छ ।

नेपालको अर्थतन्त्र सुधार हुन नसक्नुको प्रमुख कारण राजनीतिक अस्थिरता नै भएको उहाँले बताउनुभयो । यस बाहेक पर्याप्त भौतिक पूर्वाधारको अभाव, व्यवसायी सोचको कमी लगायतका कारणले पनि अर्थतन्त्रमा सुधार हुन नसकेको उहाँको धारणा छ ।

देशलाई बलियो बनाउन आफ्नै खुट्टामा उभिनु पर्नेमा उहाँले जोड दिनुभयो । बाहिरबाट सहयोग र अनुदान आउला र देश बनाउँला भन्ने सोचले देश कहिल्यै नबन्ने उहाँले स्पष्ट पार्नुभयो ।

अहिले युरोप, अमेरिका लगायतका देश पनि आर्थिक संकटमा पर्दै गएका उहाँले बताउनुभयो । यसले विदेशी सहयोग र अनुदान घट्दै गएका कँडेलले सुनाउनुभयो ।

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि विभिन्न क्षेत्रमा दिँदै आएका अनुदान र सहयोग कटाउने निर्णय गरेकाले यो सङ्कट अझ बढ्ने उहाँको धारणा छ । त्यस्तै अन्य मुलुकले पनि सहयोगका कार्यक्रम कटाउँदै गएका उहाँले बताउनुभयो ।

‘विश्व अर्थतन्त्र नै अहिले संकटमा भएकोले बाहिरबाट सहयोग आउने कुराको आस नगर्दा हुन्छ, हामी अब आफ्नै खुट्टामा उभिनुको विकल्प छैन, अब आफ्नै खुट्टामा उभिएर देशको अर्थतन्त्र बलियो बनाउनु पर्छ’, उहाँले भन्नुभयो ।

नेपाल विकास निर्माणको काममा निक्कै अघि बढेको कँडेलले बताउनुभयो । यसलाई थप गति दिएर अघि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।