जनता टाइम्स

९ कार्तिक २०७६, शनिबार १०:३३

तरुण दल स्थापना दिवस : के फुट्ला कांग्रेस पार्टी !


काठमाडौं, कात्तिक ९

नेपाल तरुण दलको ६७औँ स्थापना दिवस मनाउने सन्दर्भलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र तीव्र विवाद उत्पन्न भएको छ । कात्तिक १० गते आइतबार नेपाली कांग्रेसको संस्थापन पक्ष र इतर पक्षले नेपाल तरुणदलको स्थापना दिवस छुट्टाछुट्टै कार्यक्रम गरी मनाउँदै छन् । एकले अर्कोलाई कारबाही घोषणा गरेका कारण अध्यक्ष जीतजंग बस्नेत र महासचिव भूपेन्द्रजंग शाहीले स्थापना दिवसमा अलग अलग कार्यक्रम गर्न लागेका हुन् ।

अध्यक्ष बस्नेत सभापति शेरबहादुर देउवा(संस्थापन) पक्षका हुन् भने महासचिव शाही वरिष्ठ नेता रामचन्द्र पौडेल(इतर) पक्षका हुन् । उनीहरू दुवैले कात्तिक १० गते पार्टी केन्द्रीय कार्यालय सानेपामा अलग अलग चियापान कार्यक्रमको आयोजना गरेका छन् । जसका कारण झडपको सम्भावना बढेको छ । दुवै पक्षले पार्टीका आ–आफ्ना गुटका नेताहरूलाई आमन्त्रण गरेका छन् । महासचिव शाहीले वरिष्ठ नेता पौडेलको प्रमुख आतिथ्यता र महामन्त्री डा. शशांक कोइरालाको विशिष्ट आतिथ्यतामा आयोजना गरिने भेलाका लागि आफ्नो नेतृत्वमा सबै जिल्ला अध्यक्ष, सदस्य रहेको एक हजार एक सदस्यीय मूल समारोह समिति गठन गरिएको बताएका छन् ।

उनले चियापान कार्यक्रममा नेताहरू प्रकाशमान सिंह, डा. रामशरण महत, डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, बलबहादुर केसी, सुजाता कोइरालालगायतका नेताहरूलाई आमन्त्रण गरेका छन् । बस्नेत पक्षले गरेको चियापानमा सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधिलगायतका नेताहरूलाई बोलाइएको छ । यो विवाद मिलाउन इतर पक्षले सभापति देउवालाई भेटेर अनुरोध गरेको छ । विवाद नमिलाइए इतर पक्षीय नेताहरू महासचिव शाहीले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने चेतावनी दिएका छन् । नेपाल तरुणदलको म्याद आगामी मंसीर ३ गते सकिँदैछ ।