जापान, माघ २३ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले अहिले नेपालमा लगानीको वातावरण बनेको तथ्य राख्नुभएको छ ।
आफ्नो जापान भ्रमणको क्रममा प्रवासी नेपाली मञ्च जापान (ओएनएफ) का प्रतिनिधिसँगको छलफलमा महासचिव पोख्रेलले सरकारले लगानीमैत्री वातावरणका लागि सुधारका काम गरेको बताउनु भएको हो ।
‘नेपालमा लगानीका लागि राजनीतिक स्थायित्व, नीतिगत सुधार र लगानीमैत्री वातावरण निर्माण गर्दै विदेशी लगानीकर्तालाई प्रोत्साहित गर्न सरकार प्रतिबद्ध रहेको छ । लगानीको बातावरण बनेको छ । सवैले ढुक्क भएर लगानी गर्दा हुन्छ,’ महासचिव पोखरेलले भन्नुभयो ।
जापान–नेपाल विकास मञ्चका सभापति एवं पूर्वसंसदीय उपअर्थमन्त्री मोतोयुकि ओदाची, जापानका लागि नेपाली राजजदूत डा.दुर्गाबहादुर सुवेदी, नेकपा एमालेका केन्द्रीय सदस्य डा.सूर्य पाठक, प्रवासी नेपाली मञ्च जापानका प्रतिनिधिहरूसहित उच्चस्तरीय छलफलमा जापानी प्रतिनिधिहरूले नेपालमा लगानीका विभिन्न सम्भावनाहरूप्रति चासो व्यक्त गरेका थिए । उनीहरूले आगामी दिनमा नेपालमा सहकार्यलाई अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
नेपालमा लगानीका सम्भावनाहरूलाई केन्द्रमा राखेर आयोजना गरिएको बैठकमा शैक्षिक, आर्थिक, सांस्कृतिक, प्राविधिक तथा कृषि क्षेत्रका विषयमा विस्तृत छलफल भएको थियो । नेपालमा विदेशी लगानीको प्रवर्धन गर्दै औद्योगिक विकास, रोजगारी सृजना तथा प्रविधि हस्तान्तरणमा जापानी सहयोगलाई अझ प्रभावकारी बनाउने विषयमा छलफलमा जोड दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्