जनता टाइम्स

२५ माघ २०८१, शुक्रबार २३:५७

वित्तीय संस्थाहरूको घोषणा : निक्षेप सुरक्षित छ, निक्षेप सुरक्षित छ, सामाजिक सञ्जालका अफवाह फैलाउनेमाथि कडा कारवाही हुनुपर्छ


काठमाडौं, माघ २५। नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशेसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रूपमा विज्ञप्ति निकाले निक्षेप सुरक्षित रहेको बताएको छ ।

शुक्रबार प्रेस विज्ञप्ति नै निकालेर नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरूमा जोखिम बहन गर्ने क्षमता भएको बताएको हो ।

नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको नेपालको बैंक तथा वित्तीय क्षेत्र नेपाल राष्ट्र बैंकको सूक्ष्म निगरानी गर्दै आएको छ । बैंकिङ्ग क्षेत्र नीति/नियमहरूको अधीनमा रहेर प्रत्येक त्रैमासिक रूपमा वित्तीय विवरण सार्वजनिक गर्दै आइरहेको छ । अन्तर्राष्ट्रिय बैंकिङ्ग सिद्धान्तको व्यवस्थाहरू तथा नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरूको पालना गर्दै बैंकिङ्ग क्षेत्र उदाहरणको रूपमा स्थापित भएको विज्ञप्तिमा उल्लेख छ ।

‘बैंकिङ्ग क्षेत्र क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधिहरू भइरहेको र सामाजिक सञ्जालहरूमा समेत विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको नाम प्रयोग गरी प्रेषित गरिएको केही भ्रामक र गलत अभिव्यक्तिहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ । सम्बन्धित सबै बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाखसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत सुरक्षण गरिएको स्मरण गराउँदछौ ।

सामाजिक सञ्जालहरूमा देखिने गलत तथा भ्रामक टिप्पणीहरूमा कुनै ध्यान दिनु हुन र सम्बन्धित सरोकार निकायहरूले सम्प्रेषण गरेको सूचना/समाचारहरूलाई मात्र आधिकारिक रूपमा लिनुहुन अनुरोध गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

आम-सर्वसाधारणलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तिजनक अभिव्यक्ति दिने र ग्राहकलाई बैंकिङ्ग सेवा प्रयोग गर्ने अधिकारबाट वञ्चित गराउनेहरूलाई कानूनको दायरामा ल्याई आवश्यक कारबाही गर्न बैंक तथा वित्तीय क्षेत्र माग गरिएको छ ।