काठमाडौं, माघ २९ । गायिका एलिना चौहानले श्रीमान विष्णु सापकोटासँग सम्बन्धविच्छेद गर्नुभएको छ । एलिनाले सम्बन्धविच्छेदका लागि हालेको मुद्दाको आज जिल्ला अदालत काठमाडौंले छिनोफानो गरेको हो । एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो । श्रीमानसँग कानूनीरुपमा पारपाचुके गरेपश्चात गायिका चौहानले फेसबुकमा मार्मिक स्टाटस लेख्नुभएको छ । यो सम्बन्धविच्छेद रहरले नभइ बाध्यताले गर्नुपरेको लेखमा बुझ्न सकिन्छ ।
एलिनाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ,‘भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ । जुन रहेन, अनि हाम्रो सम्बन्धमा अल्पायुमै पुर्णविराम लागेको छ । यो रहरले होईन । जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ । आजदेखी स्वतन्त्र भएर कानुनीरुपमै आ–आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ । पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु । तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना बिष्णु ।’
उहाँहरुको वैवाहिक सम्बन्ध १० महिना पनि टिक्न सकेन । एलिनाका दाइ प्रल्हाद चौहानले सम्बन्धविच्छेदको विषयमा लेख्नुभएको छ,‘मेरी बहिनीले तिमीबाट भोगेका शारीरिक, मानसिक र भावनात्मक यातनाको हिसाब आजबाट समाप्त भएको छ । आजदेखी मेरी बहिनी र विष्णु सापकोटाको सम्बन्ध कानूनी रुपमा समाप्त भइसकेको छ ।’
प्रतिक्रिया दिनुहोस्