काठमाडौं, फागुन ४ । प्रधानमन्त्री केपी शर्मा ओली कीर्तिपुर अस्पताल पुग्नु भएको छ ।पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन विस्फोट भएर घाइते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भेट्न प्रधानमन्त्री ओली कीर्तिपुर अस्पताल पुग्नुभएको हो ।
प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम सकेर प्रधानमन्त्री ओली कीर्तिपुर अस्पताल पुगेको उहाँको सचिवालयका एक सदस्यले जानकारी दिनुभयो ।शनिबार पोखरामा आयोजित पोखरा भ्रमण वर्ष कार्यक्रमको उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट हुँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते हुनुभएको थियो ।
उहाँहरूलाई तत्काल पोखरामै प्राथमिक उपचार गराएर थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उनीहरूको थप उपचार भइरहेको छ । यसअघि आजै राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे लगायतले पनि कीर्तिपुर अस्पताल पुगेर उहाँहरूको स्वास्थ्यबारे जानकारी गराएको थियो । अस्पतालले भने भिडभाडसँगै संक्रमणको पनि जोखिम बढेकाले भेटघाटका कार्यक्रम बन्द गरेको थियो ।‘हाललाई अवस्था सामान्य भएतापनि संक्रमण हुने भएको हुदाँ हाललाई भेटघाट अर्को सूचना नआएसम्म पूर्ण रुपमा बन्द गरिएको छ,’ आइतबार अस्पतालले विज्ञप्तिमार्फत बताएको थियो । यद्यपि प्रधानमन्त्री ओलीले उहाँहरूलाई भेटेर स्वास्थ्यअवस्थाबारे जानकारी लिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्