मलेसिया, भदौ २७ । नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा संयुक्त अरव इमिरेट्स (यूएई) लाई पराजित गर्दै नेपाल च्याम्पियन बनेर एसिया कपमा छनोट भएको हो ।
मलेसियाको वायुमास ओभलमा शनिवार भएको फाइनल खेलमा नेपालले यूएईमाथि ४४ रनको जित निकाल्यो । नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा अलआउट हुँदै २६९ रनमा समेटियो । यूएईका लागि राहुल चोपराले अविजित शतक बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । यस्तै तनिश सुरीले ४२ रन बनाए भने कप्तान हरप्रित भाटियाले ३३ रन बनाएर आउट भए ।
नेपालका लागि बलर करण केसीले ३ विकेट लिए । यस्तै ललित राजवंशीले २ र कप्तान सन्दीप लामिछाने, रोहित पौडेल, गुल्शन झा, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रनको बलियो योगफल बनाउन सफल भएको थियो । खेलमा आसिफ शेखले १०६ बलमा ८ चौका र ४ छक्कासहित १०२ रन बनाए भने गुल्शनले ३८ बलमा ३ चौका र ४ छक्कासहित ५२ रन बनाए । यस्तै अर्जुन कुमालले ४३ तथा रोहित पौडेलले ४० रन बनाए ।
आसिफले यो शतक आफ्नो ओडीआई करियरको दोस्रो हो । आसिफले आउट हुनुअघि अर्जुन कुमालसँग पहिलो विकेटका लागि ९७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । त्यसपछि इशान पान्डेसँग दोस्रो विकेटका लागि ३६ रनको साझेदारी गरे भने तेस्रो विकेटका लागि रोहित पौडेलसँग ६८ रनको साझेदारी गरे ।
यूएईका लागि इबरार अहमदले ४ विकेट लिँदा खुजाइमा बिन तनभिरले २ विकेट लिए भने हैदर अली, अदीब उसमानीले १–१ विकेट लिए । यसअघि सन् २०२३ मा प्रिमियर कपको फाइनलमा पनि नेपालले यूएईलाई नै पराजित गरेर च्याम्पियन बनेको थियो ।














प्रतिक्रिया दिनुहोस्