जनता टाइम्स

१९ फाल्गुन २०८१, सोमबार २०:०५

अमेरिकाको बाल्टिमोरमा रहेका नेपालीको छाता संस्था बानामा चुनाव, ५ गुणा बढी मतसहित अध्यक्षमा प्रभु थापा निर्वाचित


वासिङटन डिसी (अमेरिका), फागुन १९ । अमेरिकाको मेरिल्याण्ड राज्य अन्तर्गत बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) को बोर्ड अफ ट्रस्टीको अध्यक्षमा प्रभुराम थापा निर्वाचित हुनुभएको छ ।

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा अमेरिका महादेश इञ्चार्जसमेत रहनुभएका थापा नेपालीको साझा संस्था बानाको नेतृत्वमा पुग्नुभएको हो ।

मेरिल्याण्ड राज्यमा बस्ने नेपालीहरुको छाता संगठन तथा अमेरिकामा रहेका बिभिन्न संघ÷संस्थाहरु मध्ये शीर्ष स्थानको मानिने बानाको बोर्ड अफ ट्रष्टीको नेतृत्वका लागि मतदान भएको थियो । मतदानमा कुल ११६ मतदाता रहेकोमा ९७ मत ल्याएर थापा बिजयी हुनुभयो ।

थापासँग प्रतिस्पर्धा गर्नुभएका महेन्द्र देशारले केवल १९ मत प्राप्त गर्नुभएको छ । बाल्टिमोरमा सामाजिक अभियन्ताका रुपमा परिचित थापा व्यवसायमा पनि अब्बल हुनुहुन्छ ।

सो संस्थाको उपाध्यक्षमा कलाकार तथा व्यवसायी अनुशुया श्रेष्ठ वन्त, सचिवमा सुर्योदया तिम्सिना भने निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै रिना केसी, जनक पौडेल र सुशिला महत सदस्यमा निर्वाचित हुनुभएको छ ।

ट्रष्टी निर्वाचन समितिको संयोजक सुबोध बिलास पन्तले अध्यक्षबाहेक सबै पदमा निर्विरोध भएको बताउनु भयो । नवनिर्वाचित अध्यक्ष थापाले संस्थाको गरिमा कायम राख्दै समुदायको सेवामा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

थापाले मतदाता सवैलाई धन्यवाद दिनुभएको छ भने प्रतिस्पर्धामा उत्रिएका प्रतिस्पर्धीलाई लोकतान्त्रिक अभ्याशका लागि बिशेष धन्यवाद दिनुभएको छ । सन् २००५ मा स्थापना भएको बाना अमेरिकामा सबैभन्दा धेरै नेपालीहरु सदस्य रहेको संस्था हो । बानामा ५ हजारभन्दा बढी सदस्य रहेका छन ।