काठमाडौं, फागुन २१ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएपछि हालसम्म ८१५५ जना सहकारीपीडितले आफ्नो बचत फिर्ता पाएका छन ।
भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले संसदमा यस्तो जानकारी दिनुभएको हो । मन्त्री अधिकारीले बर्तमान सरकार गठन भएदेखि फागुन २० गतेसम्म ८ हजार १५५ जना सहकारी बचतकर्ताको हिनामिना भएको रकम फिर्ता गराइएको तथ्य राख्नुभयो ।
प्रतिनिधि सभामा सहकारी सम्बन्धी अध्यादेशमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री अधिकारीले ती बचतकर्ताको १ अर्ब ६७ करोड ७० लाख रुपैया बचत रकम फिर्ता गराइएको बताउनु भयो ।
सरकारले सहकारी पीडितलाई केही गरेन भन्ने विपक्षीहरुको आरोपको खण्डन गर्दै मन्त्री अधिकारीले साउनदेखि फागुनसम्मको सो तथ्यांक पेश गर्नुभयो । त्यस्तै ४ महिनाको बीचमा सहकारीका बचतकर्ता र सञ्चालकहरुबीच सहमति गराएर १ अर्ब १० करोड रुपैयाको हिसाब मिलान गरिएको जानकारी पनि दिनुभयो ।
उहाँका अनुसार एक हजारजना सहकारीका ऋणी सदस्यबाट ३१ करोड रुपैया असूल उपर गरिएको र ७ हजार ऋणी सदस्यको खाता रोक्का गरिएको छ । यस्तै ऋण असूली नियमित गराइएको र प्राधिकरणमार्फत काम भइरहेको मन्त्री अधिकारीले बताउनु भयो ।
सहकारीबाट ऋण लिँदा पनि धितो अनिवार्य गरिएको पनि मन्त्री अधिकारीले जानकारी दिनुभयो । मन्त्री अधिकारीले आफ्नै पालामा गर्न खोजिएको काम अहिलेको सरकारले गर्दा पनि विपक्षमा रहेका दलका सांसदहरुले आलोचना गरेको गुनासो गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्