जनता टाइम्स

१० कार्तिक २०७६, आईतवार २०:२७

महेश बस्नेतले गरे भक्तपुरका जनताको विकास र समृद्धिको चाहना पूरा गरेरै छाडने यस्तो अठोट


भक्तपुर, कात्तिक १० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले उज्यालोको पर्व दिपावली जस्तै भक्तपुरका जनताको विकास र समृद्धिको चाहना पूरा गरेरै छाडने अठोट गर्नुभएको छ । सिपाडोल क्षेत्र परोपकार समाजले आज आयोजना गरेको परोपकार कोष स्थापना देउसी भैलो कार्यक्रममा बोल्दै भक्तपुर २ का निर्वाचित सांसदसमेत रहनुभएका पूर्वमन्त्री बस्नेतले यस्तो अठोट गर्नुभएको हो ।

चाडपर्वहरु सामाजिक कामसँग जोडिएको बताउँदै उहाँले चाडपर्वमा गरीने पुजा समृद्धिको प्रतिक भएको उल्लेख गर्नुभयो । चाडपर्वहरु प्रगतिशिल पथमा अघि बढाउनुपर्नेमा जोड दिँदै बस्नेतले सवै नागरिक उत्पादन, व्यावसायिक तथा रोजगारीमा जोडिदै आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभयो । भक्तपुरका स्थानीय जनताले नै समस्या समाधानमा सक्रियता देखाउने गरेको उदाहरण प्रस्तुत गर्दै उहाँले भक्तपुरको विकासमा अन्य जिल्लाको जस्तो ठूलो अड्चन नभएको, भएकालाई जनप्रतिनिधि तथा सम्बन्धित निकायले समन्वय गरी समाधान गरी अघि बढिरहेको जानकारी पनि दिनुभयो ।

केही समस्याका कारण विकास पनि गरेको तर गाली पनि खानु परेकाले विशेष ध्यान दिई विकासमा अघि बढ्ने प्रतिवद्धता जनाउँदै उहाँले सिपाडोलको सडकका लागि ढल निर्माणको काम सम्पन्न भएसँगै दुई करोडको लागतमा कालोपत्रे गर्ने कार्य हुने जानकारी दिनुभयो ।

बस्नेतले यस वर्ष डोलेश्वर मन्दिरको निर्माणको लागि आवश्यक बजेटको व्यवस्थापन गरी निर्माण सम्पन्न गराउने प्रतिवद्धतासमेत जनाउनुभयो । तीन वटै तहका सरकारको समन्वयनमा भक्तपुरमा भइरहेको कुनै पनि विकास निर्माणका कार्यहरुमा बजेटको अभाव नहुने बताउँदै भक्तपुरमा भइरहेका साना ठूला योजना तथा राष्ट्रिय गैरवका आयोजनाहरु निर्माणको प्रकृयामा रहेको जानकारी पनि दिनुभयो । कार्यक्रममा सांसद बस्नेतले उक्त संस्थाको कोष स्थापनाको लागि ११ हजार रुपैया सहयोग हस्तान्तरणसमेत गर्नुभएको थियो ।