जनता टाइम्स

२ चैत्र २०८१, शनिबार २०:००

एनआरएनएको एकता महाधिवेशन गर्न निर्वाचन आयोग गठन, संयोजकमा घिमिरे


काठमाडौं, चैत २ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन सम्पन्न गराउनका लागि निर्वाचन आयोग गठन भएको छ ।

सर्वोच्च अदालतको परमादेश अनुसार एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले तीन सदस्यीय निर्वाचन आयोग गठन गरेको हो । आयोगमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे प्रमुख निर्वाचन आयुक्त रहनु भएको छ भने अधिवक्ता आशिष उप्रेती र सेवा निवृत्त मेजर डमर घले निर्वाचन आयुक्त रहनुभएको छ ।

वरिष्ठ अधिवक्ता घिमिरे डेमोक्रयाटिक लयर्स एशोसिएसनका पूर्वअध्यक्ष हुनुहुन्छ । ब्रिटिस सेनाको ब्रिगेड अफ गोर्खाजका अवकाश प्राप्त मेजर घले एनआरएनए युकेका पूर्वअध्यक्ष हुनुहुन्छ भने अधिवक्ता उप्रेती युवा कानुन व्यवसायी हुनुहुन्छ ।

उच्चस्तरीय समितिका अध्यक्ष शेष घलेले समितिलाई सवैबाट सहयोग हुने बिश्वास ब्यक्त गर्नुभयो । ‘संस्थाको लोकतान्त्रीकरण तथा सम्पूर्ण सदस्यहरूलाई अधिकार सम्पन्न गर्ने गरी निष्पक्ष र पारदर्शी रूपमा निर्वाचन सम्पन्न गराउन यो निर्वाचन आयोगलाई सहयोग गर्न हामी सम्पूर्ण मित्रहरूलाई आग्रह गर्दछौँ’, उहाँले भन्नुभएको छ ।

अध्यक्ष घलेले लामो समयदेखि विवादमा अल्झिएको गैरआवासीय नेपाली संघलाई एकताबद्ध गरी महाधिवेशन गराउन सर्वोच्च अदालतको परमादेश अनुरूप परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर आगामी मे ३ देखि ५ सम्म काठमाडौँमा एकताको महाधिवेशन गर्न लागिएको बताउनु भयो ।

उच्चस्तरीय समितिले यही ३१ मार्च २०२५ भित्र  https://nrnahlc.com/membership-registration/ मा गएर नयाँ सदस्यताको लागि आवेदन दिन वा आफ्नो सदस्यता नवीकरण गराउन आग्रह गरेको छ । समितिले एनआरएनएका सबै पञ्जीकृत सदस्यहरूले काठमाडौंमा उपस्थित भएर तोकिएको शुल्क तिरी डेलिगेट्स बन्न पाउने व्यवस्था गरेको छ ।