जनता टाइम्स

११ कार्तिक २०७६, सोमबार १३:०४

यस्तो छ सिस्नोपानी नेपालको देउसी-भैलो (पूर्णपाठ)


काठमाडौं, कात्तिक ११ । बिगत बर्षहरुमा जस्तै सिस्नोपानी नेपालले तिहारमा व्यंग्यात्मक देउसी भैलो खेलेको छ । सदाका वर्षझै यस वर्ष पनि सिस्नोपानी देउसीमा उसले नेपालको राजनीति, समाज र तिनका प्रवृतिमाथि तिखो व्यंग्य गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पष्कमल दाहाल, प्रचण्डदेखिसवै राजनीीतक दलका शीर्ष नेतालाई आमन्त्रण गरेर सिस्नोपानीले ब्यंग्य बस्दै देउसी भैलो खेलेको हो ।

यस्तो छ, सिस्नोपानीको देउसी भैलो

भन भन साथी हो – देउसिरे

राम्ररी भन – देउसिरे

सिस्नुपानी भन्छ – देउसिरे

देउसी खेल्न मन छ – देउसिरे ।

आन्दोलनको आगो – बालेर

निरंकुशतन्त्र – ढालेर

राजतन्त्रलाई – फालेर

द्वन्द्वलाई शान्तिले – टालेर

जनताको संविधान – लेख्नेले

नाका बन्दी – छेक्नेले

धुलो बढार्न – सक्दैनौ ?

खाडल पुर्न – सक्दैनौ ?

जेल र नेल – भोग्नेले

छातीले गोली – रोक्नेले

देशको लागि – भनेर

सर्वश्व गुमाउन – सक्नेले

भ्रष्टाचार नगर्न – सक्दैनौ ?

नैतिकता जोगाउन – सक्दैनौ ?

दलाललाई नटेर्न – सक्दैनौ ?

अपराधी नपाल्न – सक्दैनौ ?

 

देउसी खेल्न आयौँ हामी जनताले पठाए

अझै बहादुर सभामुख खोज्न खटाए

तानिँदैछन् लहरा भत्किँदैछन पहरा

भिआइपीमा को को होलान गुप्त महरा

(माननीय सदस्यहरू,

म हुँ भन्नेले हात उठाउनुहोस्

म होइन भन्नेले शिर उठाउनु होस् ।)

ज्वालामुखी जस्तो गरी विस्फोट हुन्छन् घटना

घटनालाई सामसुम पार्न आयोग गठन

झ्याप्पै पारी जसको च्याप्पै समाउनु थ्यो कठालो

आयोग आफैं बस्ने गर्छ उसकै गोठालो ।

कल्ले खायो कल्ले खायो वाइडबडी पिलेन

मिलिजुली खाको कुरा भन्नै मिलेन ।

भेट्न भनी बोलाउँछन् प्रधानमन्त्री ओलीले

एकोहोरो हानिरन्छन् आफ्नै बोलीले

बालुवाटारको डाँडामाथि चिसो हावा सिरिरि

विकास सिकास त्यस्तै हो रेशम फिरिरि

रेशम फिरिरि रेशम फिरिरि

पाँच वर्ष बित्न तीन वर्ष बाँकी रेशम फिरिरि ।

हा…..

विषादीले भिसा माग्यो रक्सौलमा आएर

सरकारले दिन्न भन्यो हा…..

लैनचौरले फोन घुमायो के हो पारा भनेर

बालुवाटारले सरी भन्यो हा…..

इण्डियालाई खुशी पार्न व्यापारीलाई बचाउन

हाम्ले विष खानुपर्ने हा….

सागपात समेत आयात गरी हाम्ले जीवन चलाको

हामै खेतमा खोइ फलाको हा….

वीर जाति नेपालीको कति राम्रो बानी हो नि लै लै

नपिउन्जेल ज्ञानी पिएपछि पानी

अन्तै जाने घरै नजानी ….

नेकपाको इस्कूलैमा कस्तो उच्च भावना नि लै लै

माधव नेपाल दिने केपी ओली नलिने

स्वास्थ्यलाभको शुभकामना…..

एउटा घाँटी दुइटा मुख प्रचण्ड र ओलीको

जनताले विश्वास गर्ने कुन चैं बोलीको

नातागोता आफन्त र परिवारका सबैलाई

अंशै सरी बाँडेका छन् पद बरि लै

कस्को घरमा डेरा बस्छौ भात खान काँ जान्छौ

चिप्लिरन्छ जिब्रो तिम्रो केको तेल खान्छौ ?

भाग्यमानी घरबेटी महादानी डेरावाल

ब्ल्याक् लिस्टेडलाई मेलम्चीको ठेक्का मालामाल ।

कोही सांसद डन गुण्डा कोही सांसद ज्यानमारा

यिनै सांसद पार्टीलाई परम पियारा

भजन सुन्न मन्दिर गाको राष्ट्रगान पो घन्कियो

चिताबाट मान्छे उठी तनक्क तन्कियो ।

मधेशवादी दलको आफ्नै मौलिक ढङ्ग छ

छेपारोलाई छक्कै पार्ने बहुरङ्ग छ

सरकार पनि चलाउने संविधान नि जलाउने

झण्डावाला गाडी चढी जुलुस लगाउने ।

काँ बिलाए आरके कमरेड काँ हराए अशोक राई

कहाँ पुगे निख्खुर क्रान्तिकारी भट्टराई

चिन्ता लाग्छ ती प्याराले हामीलाई भुले कि १

चोक्टा खान हिँडेका थे झोलमा डुबे कि ?

गुन्द्रुकमा कर लिने –को होला १

एनसेललाई छूट दिने – को होला १

सिंगापुरको बिल भर्ने – को होला १

टुँडिखेल पिच गर्ने – को होला १

वाइडबडी पचाउने – को होला १

सूनतस्कर बचाउने – को होला १

होली वाइन बाँड्ने – को होला १

मेलम्ची भाँड्ने – को होला १

पप्पुलाई पुल पार्ने – को होला १

गाई लडाई मार्ने – को होला १

हाम्रो देशको न्यायालय कति साह्रै चोखो छ नि लै लै

कार्यकर्ता न्यायाधीश दलले सोध्छ कहाँ थिस्

न्याय चाहिँ टाँय टाँय फिस…

अख्तियारको आयुक्त नै भ्रष्टाचारमा चुर्लुम्म नि लै लै

कुन चाहिँ निस्क्यो भिलेन कता सेटिङ मिलेन

पदै ढल्यो गल्र्याम गुर्लुम्म ।

नेपालमा आउँछ भन्छन् विदेशीको लगानी

आशैआशमा बित्यो दुई तिहाइको जवानी

नागार्जुनमा मुसो कुद्दा सिंहदरबार थर्किन्छ

यस्तो कुरा सुन्दा हाम्लाई पानी सर्किन्छ

हुक्के पनि तिनै छन् बैठके नि तिनै छन्

शितल निवास जनताबाट टाढा हुँदै झन्

राष्ट्रपति हुन खोज्दा राजाराजा भयौ कि

घरतिर जानु पर्ने दरबार गयौ कि १

माथिकाले खाका छन् तलकाले खाका छन्

प्रदेश सरकार कठैबरा मुख बाका छन् ।

एक वर्षमा १० महिना विदेश घुम्छन् मेयरज्यू

उतै बसून् बरु तिनलाई ग्रिनकार्ड मिलाइद्यूँ

पिर्का माथि चढीचढी खान थाले सलामी

कस्तो हतार यिनलाई जान आफ्नै मलामी

म हिँड्दा बाटोमा – जाम छैन

धुवाँ र धुलोको – नाम छैन

जुत्ताले कार्पेट – टेकिन्छ

खोइ कहाँ हिलो – देखिन्छ १

जाँ गयो त्यहीँ – भिड लाग्छ

क्यामेरा मेरै – मुख ताक्छ

शिलान्यासको – धपेडी छ

मन्चमा जाँदा – थपडी छ

देखेका जति – सुकिलै छन्

भेटेका जति – हँसिलै छन्

राजदूतले कुर्छन् – एक घण्टा

मन्त्री नै ढुक्छन् – दुई घण्टा

सि जिन फिङ लाई – ल्याकै हो

मोदीलाई पनि – भ्याकै हो

को हो त्यो विकास – नदेख्नी

विकासका सम्चार –नलेख्नी

सरकारलाई चौतर्फी – चेप्नी हो ?

दुईतिहाइ सरकारलाई – हेप्नी हो ?

हिटलरले मान्छे माथ्र्यो ग्यास च्याम्बरमा हालेर

अफ्तावले आगो ताप्यो मान्छे बालेर

मन्त्री, पुलिस, वकील र न्यायाधीश किनेर

न्याय खोज्न हिँड्नेको घाँटी थिचेर

इट्टा पोल्ने भट्टीमा जिउँदै मान्छे पोलेर

सांसद भयो, मन्त्री खायो छाति खोलेर

देउवा दाइ भन्नुहुन्छ आलम मलाई चाहिन्छ नि लै लै

दुनियाँले बोल्दैमा भट्टिमा मान्छे पौल्दैमा

समाइहाल्न कहाँ पाइन्छ ?

हाम्रा विश्वविद्यालय घाँस र झारले ढपक्कै नि लै लै

दलले खेद्दै लान्छन् गाईगोरु जान्छन्

खुरुखुरु हरियो घाँस खान्छन् ।

गीत

केको लर्को केको लर्को युट्यूबरको लर्को

बन्ने भयो संस्कृति हाम्रो घाटको न घर्को नि लौ

केको हल्ला केको हल्ला फेसबुकैको हल्ला

फेसबुकले आगो लाउँदा आफ्नै घर जल्ला नि लौ

खाए सके सिध्याए लुटे देशै बेचे भन्छन्

युट्युबैमा भिडिओ हाली डलर पो गन्छन् नि लौ

केमा थुप्र्यो केमा थुप्र्यो मोवाइलमा थुप्र्यो

अग्लो थियो मान्छे पहिले अहिले भयो कुप्रो नि लौ

केको खेति केको खेति अनलाइनको खेति

भाइरल बन्न मनपरि लेख्दा मुलुकैको क्षति नि लौ

चौथो अङ्ग मिडियाको कस्तो खबरदारी

तर्साउँदै समाचारमै कालो बजारी

राष्ट्रसेवक भन्ने हाम्रो स्थायी सरकार कस्तो छ ?

बाली चोरी खाने अटेर साँढे जस्तो छ

पछिपछि अख्तियारले पिँडुलामा हान्दैछ

अघिअघि घुसको बुजो मुखले तान्दैछ

कसले भन्छ नेपाललाई गरिब देश भनी– दे दनादन

स्वीट्जरलेन्डका बैंकभरि हाम्रो डलर मनी– दे…

बेइजिङबाट ह्याकरहरू बैंक लुट्न आउँछन्– दे…

ब्राजिलबाट तस्करहरू कोकिन बेच्न ल्याउँछन्– दे…

यूएस युरोप अष्ट्रेलिया सन्तान पढाउँछौ– दे दनादन

दिल्ली बैंकक सिंगापुरमा उपचारलाई धाउँछौ – दे …

गाडी आउँछन् जापानबाट जहाज युरोपबाट – दे…

मलेसिया चाइनाबाट आउँछन् सुत्ने खाट – दे…

दशैं तिहार मनाउनलाई च्याङ्ग्रो तिब्बतको– दे…

भ्यालेन्टाइनको उपहारलाई गुलाब इटलीको – दे…

ब्रिटिस–भर्जिन आइल्याण्डमा हाम्रो बल्याक् मनी– दे ।

कसले भन्छ नेपाललाई गरिब देश भनी – दे…

आशिष

धर्मका नाममा – नखेल्नु

भिरबाट गाई – नठेल्नु

वैदेशिक सम्बन्ध – राम्रो होस्

चीन भारत दुवै – हाम्रो होस्

सामाजिक सुरक्षा – पक्का होस्

श्रमिकको भविष्य – ढुक्क होस्

अतिथि सेवा – सभ्य होस्

पर्यटन वर्ष – भव्य होस्

लोडशेडिङ् फर्केर – नआओस्

पावरहाउस बाढीले – नखाओस्

पारदर्शी स्वच्छ – चुनाव होस्

मनी र मसललाई – तनाव होस्

डाटा प्याक चलाउँ – मर्जिले

टेलिकम राम्रो – फोरजीले

डाक्टरले किड्नी – नचोरुन्

जनताले अस्पताल – नफोरुन्

जहाजमा मतुवा – नचढोस्

एयरपोर्टमा एनआरएन – नलडोस्

हुण्डीको जाल – तोडियोस्

मेलम्ची छिटो – जोडियोस्

अख्तियारका खुट्टा – नकामुन्

ठूला माछा – नभागुन्

सिजिन पिङ मोदी – आइरहून्

जनताले सास फेर्न – पाइरहून्

रेलले हिमाल – चढी आउन्

सुरुङले पहाड – छेडी जाउन्

श्रममात्र होइन –दाम पनि होस्

कुरा मात्र होइन –काम पनि होस् ।।