जनता टाइम्स

२२ चैत्र २०८१, शुक्रबार २१:२६

लामिछानेलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरीः आजै गिरफ्तारी दिने लामिछानेको भनाई


काठमाडौं, २२ चैत्र । रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको छ ।

उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीलगायतको आदेश बदर गर्दै रविलाई थुनामा पठाउने आदेश गरेलगत्तै प्रहरी उहालाई पक्रन पुगेको हो ।

केहीबेरअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोली रविको बुढानीलकण्ठस्थित निवासमा पुगेको छ । यता लामिछानेले आफूले उच्च अदालतको आदेशको सम्मान गर्दै गिरफ्तारी दिने बताउनुभयो। सामाजिक सञ्जालमार्फत उच्च अदालत बुटवलको आदेशलाई सम्मान गर्दै आजै गिरफ्तारी दिने बताउनुभयो ।

यद्यपि, उहाँले आफूमाथि अन्याय भएको जिकिर गर्नुभएको छ । ‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैं आजै अहिले नै गिरफ्तारी दिँदैछु । साथै न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु’, उहाँले लेख्नुभएको छ, ‘म माथि ठूलो अन्याय भएको छ ।’ उनले आफूले न्यायका लागि हरेक ढोका ढकढकाउने पनि उल्लेख गरेका छन् । तर उनले आफ्नो अनुपस्थितिमा चितवनको सभा नरोक्न आग्रह पनि गर्नुभएको छ ।