जनता टाइम्स

२४ चैत्र २०८१, आईतवार ०७:०१

आईपीएल क्रिकेटमा राजस्थान रोयल्स् र दिल्ली क्यापिटल्स विजयी


काठमाडौं, २४ चैत्र । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा हिजो भएका खेलमा राजस्थान रोयल्स् र दिल्ली क्यापिटल्स विजयी भएका छन् । हिजो भएको दोश्रो खेलमा राजस्थान रोयल्स्ले पञ्जाब किङ्ग्सलाई ५० रनले हराएको छ । राजस्थानले दिएको दुई सय छ रनको लक्ष्य पछ्याएको पञ्जाबले नौ विकेट गुमाएर एक सय ५५ रन मात्र बनाउन सक्यो ।

त्यसअघि मुल्लनपुरमा टस हारेर ब्याटिङ गरेको राजस्थानले चार विकेट गुमाएर दुई सय पाँच रन बनायो । जीतसँगै राजस्थान चार खेलमा चार अङ्कसहित तालिकाको सातौं स्थानमा छ । तीन खेलमा चार अङ्कसहित पञ्जाब चौथो स्थानमा छ ।

पहिलो खेलमा दिल्लीले चेन्नई सुपर किङ्ग्सलाई २५ रनले हरायो । दिल्लीले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको चन्नईले पाँच विकेट गुमाएर एक सय ५८ रन मात्र बनाउन सक्यो ।

त्यसअघि चेन्नईमा टस जितेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ८३ रन बनायो । लगातार तीन खेलमा जीत निकालेको दिल्ली छ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । चार खेल खेलेको चेन्नई दुई अङ्कसहित पुछारबाट दोश्रो स्थानमा छ ।