काठमाडौं, चैत २५ । प्रवासी नेपाली मञ्च (ओएनएफ) ले मदन भण्डारी फाउण्डेशनलाई आधुनिक क्यामरा सहयोग गरेको छ ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको उपस्थितिमा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले फाउण्डेशनकी उपाध्यक्ष उषाकिरण भण्डारीलाई क्यामरा हस्तान्तरण गर्नुभयो । अध्यक्ष थापाले फाउण्डेशनको केन्द्रीय कार्यालय बिनायकनगर नयाँ बानेश्वरमा सो क्यामरा हस्तान्तरण गर्नुभएको हो ।
सो क्यामरा प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी अमेरिकाले उपलब्ध गराएको हो । फाउण्डेशनले एमाले उपमहासचिव ज्ञवालीमार्फत मदन भण्डारीको बिषयमा फिल्म र डकुमेन्ट्री निर्माणका लागि आधुनिक क्यामरा आवश्यक रहेको बताएपछि उहाँले प्रवासी नेपाली मञ्च अमेरिकालाई आग्रह गर्नुभएको थियो ।
सोही आग्रहअनुसार अनुसार ओएनएफ अन्तराष्ट्रिय कमिटीका अध्यक्ष थापा, सचिवालय सदस्य तथा अमेरिका महादेश इञ्चार्ज प्रभु थापा र अमेरिकाका अध्यक्ष कृष्णप्रसाद लामिछानेले आवश्यक समन्वय गरी क्यामरा उपलब्ध गराएको हो । सो क्यामरा खरिदका लागि अमेरिकामा रहेका एक जना ब्यवसायी समाजसेवीले आर्थिक सहयोग गरेका थिए । सो क्यामरा अन्ताष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा आफैले लिएर आउनु भएको थियो ।
कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले जनताको बहुदलीय जनवादी सिद्धान्तका प्रतिपादक जननेता मदनकुमार भण्डारीको बायोपिक बनाउनका लागि आफूहरुले क्यामरा सहयोग गरी जोडिन पाएकोमा खुसी ब्यक्त गर्नुभयो । थापाले यो कामका लागि अन्तराष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा अमेरिका महादेश इञ्चार्ज प्रभु थापा, अमेरिका राष्ट्रिय कमिटीका अध्यक्ष कृष्ण लामिछानेको बिशेष भूमिका रहेको जानकारी दिनुभयो ।
सो अवसरमा फाण्डेशनले क्यामरा उपलब्ध गराएकोमा धन्यवादसहित सम्मान गरेको छ । फाउण्डेशनकी उपाध्यक्ष उषाकिरण भण्डारीले धन्यवादपत्र हस्तान्तरण गर्नुभएको थियो । सो कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिवालय सदस्य डा. बिमला भण्डारी र नेता बलराम थापासहित ओएनएफ र फाउण्डेशनका नेताहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्