जनता टाइम्स

२६ चैत्र २०८१, मंगलवार १३:५२

बैदेशिक रोजगार ब्यवसायी संघमा नरेश र भुवनसिंह प्यानलसहित चुनावी मैदानमा, कुन समुहबाट को–को बने उम्मेदवार ? (सूचीसहित)


काठमाडौं, चैत २६ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्व लिन चर्चित ब्यवसायी पूर्वमहासचिव नरेश गेलाल र पूर्वउपाध्यक्ष भुवनसिंह गुरुङ प्यानलसहित चुनावी मैदानमा उत्रनुभएको छ ।

संघको यही चैत २९ गते हुन लागेको निर्वाचनमा अध्यक्षमा गेलाल र गुरुङबीच प्रतिस्पर्धा हुन लागेको हो । निर्वाचनमा अध्यक्षका दुईसहित पदाधिकारी र सदस्यमा गरी ३६ जनाले उम्मेदवारी दर्ता गरेका छन । कुल २१ सदस्यीय कार्यसमितिमा अध्यक्षसहित ७ पदाधिकारी र १० जना सदस्य गरी १७ पदका लागि निर्वाचन हुँदैछ ।

निर्वाचनमा यसपटक पनि दुई समुह प्यानल बनाएरै चुनावी मैदानमा उत्रिएका हुन । केही ब्यवसायीले भने पदाधिकारी र सदस्यमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन । निर्वाचनमा नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चसँगको तालमेल भएको छ । सो समुहबाट अध्यक्षमा संघका पूर्वद्वितीय उपाध्यक्ष तथा गुरुङ म्यानेजमेन्ट प्रालिका सञ्चालक भुवनसिंह गुरुङले उम्मेदवारी दिनुभएको हो ।

यस्तै प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको असन्तुष्ट पक्षलाई समेत समेटेर एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको सहकार्यमा संयुक्त व्यवसायी समूहको तर्फबाट अध्यक्षमा संघका पूर्वमहासचिव एवं मञ्चका पूर्वअध्यक्ष एचआर इन्टरनेशनल सर्भिस प्रालिका सञ्चालक नरेश गेलालले उम्मेदवारी दिनुभएको छ ।

चुनावमा पूर्वमहासचिव नरेश गेलाल नेतृत्वको समुहबाट प्रथम उपाध्यक्षमा एलायन्स ह्युमन रिसोर्स प्रालिका सञ्चालक संघका पूर्वमहासचिव सुजितकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा इम्प्लोइमेन्ट लिंक नेपाल प्रालिका सञ्चालक मधुकर रिजाल, तृतीय उपाध्यक्षमा न्यू अल्फा एचआर प्रालिका सञ्चालक बैकुण्ठ पौडेल वैभव र महासचिवमा डाइनामिक स्टाफिङ सोलुसन प्रालिका सञ्चालक कर्णराज कटुवाल उम्मेदवार बन्नुभएको छ । यस्तै सचिवमा कन्फिडेन्ट इन्टरनेशनल मेनपावर प्रालिका सञ्चालक अनिल बोगटी र कोषाध्यक्षमा कालिञ्चोक एचआर प्रालिकी सञ्चालक धनु सिजालीले उम्मेदवार बन्नुभएको छ ।

सो समुहबाट कार्यसमिति सदस्यमा माउन्टेन ग्रुप प्रालिका सञ्चालक देउमान नेम्वाङ, ग्रोथ प्रोसेस एन्टरनेशनल इम्प्लोइमेन्ट प्रालिका सञ्चालक राजेन्द्र बस्नेत, उज्यालो ओभरसिज प्रालिका सञ्चालक चन्द्र लिम्बू, विनर एचआर सोलुसन प्रालिकी सञ्चालक हिमा गुरुङ, रियो ओभरसिज प्रालिकी सञ्चालक रमा खड्का, गल्फ इम्पायर ओभरसिज प्रालिका सञ्चालक दिनेश बस्नेत, आयुश ओभरसिज प्रालिका सञ्चालक कामेश्वर साह (राहुल), सिगुल ओभरसिज प्रालिका सञ्चालक छत्र बस्नेत, डेष्टिनी ह्युमन रिसोर्स प्रालिका सञ्चालक युवराज देवकोटा र गल्फ एशिया म्यानपावर प्रालिका सञ्चालक राजेश यादवले उम्मेदवारी दिनुभएको छ ।

यस्तै कांग्रेस संस्थापन निकट भुवनसिंह गुरुङको प्यानलबाट प्रथम उपाध्यक्षमा नोकरी नेपाल प्रालिका सञ्चालक नरेन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा अलर्ट ओभरसिज प्रालिका सञ्चालक देवकुमार खोखाली, तृतीय उपाध्यक्षमा इम्प्लोइमेन्ट क्रियसन सर्भिस प्रालिका सञ्चालक हर्कबहादुर लिम्बू र महासचिवमा ग्लोबल राइजिङ प्लेसमेन्ट प्रालिका सञ्चालक महेशकुमार बस्नेतले उम्मेदवारी दिनुभएको छ ।  यस्तै सचिवमा आकृति रिक्रुटिङ प्रालिका सञ्चालक कुन्छा दोर्जे दिमदोङ र कोषाध्यक्षमा शुभ हारती मेनपावर प्रालिका सञ्चालक विक्रम श्रेष्ठले उम्मेदवारी दिनुभएको छ ।

सो समुहबाट कार्यसमिति सदस्यमा राज ग्रुप अफ कम्पनीका सञ्चालक राज लामा तामाङ, इम्पेरियल ओभरसिज प्रालिकी सञ्चालक विद्यालक्ष्मी बज्राचार्य, हिमालयन भ्याली नेपाल प्रालिका सञ्चालक देवीप्रसाद गिरी, ब्रदर इन्टरनेसनल इम्प्लोइमेन्ट प्रालिका सञ्चालक दीपककुमार राय, रसुवा ओभरसिज प्रालिका सञ्चालक सुवर्ण लामा, सेक्युर नेपाल जब प्रालिका सञ्चालक सुमनराज पाण्डे, सिल्भर कर्नर ओभरसिज प्रालिका सञ्चालक कैलाश पाठक, ग्लोबल एचआर हब प्रालिकी सञ्चालक गीता राउत, युनिभर्स एचआर सोलुसन प्रालिका सञ्चालक भरत सापकोटा, रिजा ओभरसिज प्रालिकी सञ्चालक रेखा शर्मा र इगल मेनपावर कन्सल्टेन्ट प्रालिका सञ्चालक कृष्ण ढकालले उम्मेदवारी दिनुभएको छ ।

चुनावको मिति नजिकिदै जाँदा अहिले दुबै समुह मतदाता भेटघाटसहितको लबिङमा ब्यस्थ रहेको छ । चुनावमा प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च र राष्ट्रिय प्रजातान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघले गेलाल समूहलाई सघाउने औपचारिक निर्णय गरेको छ । प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष जनक रावल र राष्ट्रिय प्रजातान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका सचिव अरुण कुमार महतोबीच गेलाल नेतृत्वका उम्मेदवारलाई सघाउने सहमतिमा हस्ताक्षर गर्नुभएको छ ।

संघको निर्वाचनमा कुल ९ सय ३ जना प्रतिनिधि रहेका छन । प्रतिनिधि व्यवस्थापन समितिका संयोजक तथा द्वितीय उपाध्यक्ष सञ्जु गुरुङले शुक्रबार कार्यालय समयभित्र माइन्युट र अन्य कागजपत्रसहित लेबी बुझाएका ९०३ प्रतिनिधिको नाम टुंगो लगाइएको जानकारी दिनुभयो ।