जनता टाइम्स

२७ चैत्र २०८१, बुधबार १५:१५

चालु आवमा नेपालको आर्थिक बृद्धिदर बढने एडीबीको प्रक्षेपण


काठमाडौं, चैत २७ । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर बढने जनाउ दिएको छ । एडीबीले नेपालको आर्थिक बृद्धिदर सामान्य रुपमा वृद्धि भएर ४.४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो ।

गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत रहेको थियो । आगामी आर्थिक वर्ष भने ५.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण एडीबीको छ ।एडीबीका नेपाल आवासीय मिसन प्रमुख अर्थशास्त्री इआन हान्सनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्म्पको ट्यारिफ घोषणाले एसिया व्यासिफिक क्षेत्रको आर्थिक वृद्धिको प्रक्षेपण घटेर ४.९ प्रतिशतमा झर्ने बताउनु भयो । अमेरिकी नीतिगत परिवर्तनबाट प्रक्षेपणलाई कमजोर र अनिश्चय बढाएको उहाँले बताउनु भयो ।

अमेरिकाको आर्थिक वृद्धि गत वर्षको २.८ प्रतिशतबाट यो वर्ष २ प्रतिशतमा र आगामी वर्ष १.९ प्रतिशतमा झर्ने सम्भावना रहेको निश्कर्षसमेत एडीबीले सुनाएको छ । एडीबीले अमेरिकी नीतिले चीनको आर्थिक वृद्धिमा सबैभन्दा ठूलो प्रभाव पर्ने सम्भावना समेत औंल्याएको छ । चीन अमेरिकासँग सबैभन्दा गम्भीर व्यापार युद्धमा सामेल हुने देखिएकाले यस्तो प्रक्षेपण गरिएको छ ।

यति हुँदाहुँदै पनि दक्षिण एसियाको भने गत वर्षको ५.८ प्रतिशतबाट ६ प्रतिशत पुग्ने प्रक्षेपण एडीबीको छ । चालु आर्थिक वर्षमा उत्पादनमूलक क्षेत्रको वृद्धि भने बढ्ने प्रक्षेपण एडीबीको छ । ‘चालु आर्थिक वर्षको पहिलो ६ महिनामा निर्माण क्षेत्रमा ७.७ प्रतिशत कर्जा विस्तार भएको छ । उत्पादनमूलक उद्योगमा कर्जा जाने सम्भावना पनि उच्च छ,’ एडीबीका नेपाल मिसनका अर्थशास्त्री मानवरसिंह खड्काले भन्नुभयो । उहाँका अनुसार यो क्षेत्रको वृद्धिलाई ऊर्जा क्षेत्रले धेरै नै योगदान गर्ने छ ।

यो आर्थिक वर्षमा थप ९ सय मेगावाट उत्पादन बढ्ने प्रक्षेपण नेपाल विद्युत प्राधिकरणको छ । यस्तै पर्यटन आगमनमा भएको वृद्धिका कारण सेवा क्षेत्रको वृद्धि पनि सकारात्मक हुने बिश्लेषण खड्काको छ । यस्तै व्यापार तथा पारवहन क्षेत्रले पनि राम्रो योगदान गर्ने छ । केही समययता भएको कानूनी परिवर्तनले पनि लगानी बढ्ने तथा सेवा क्षेत्रको वृद्धिमा योगदान गर्ने खडकाले बताउनु भयो ।

एडीबीले चालु आर्थिक वर्षमा मूल्यवृद्धि ५.२ प्रतिशतमा सीमित हुने र आगामी वर्षमा यो ५ प्रतिशतमा सीमित हुने प्रक्षेपण एडीबीको छ ।