काठमाडौं, २७ चैत। नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको सानेपास्थित जग्गा जफतको प्रक्रिया अघि बढाइएको छ ।
कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले खड्काको सानेपास्थित जग्गा जफतको प्रक्रिया अघि बढाएको हो । विभागका महानिर्देशक सुरेश पन्थीले सर्वोच्च अदालतको आदेश अनुसार जग्गा जफतका लागि प्रक्रिया अघि बढाइएको बताउनुभयो ।
‘मालपोतबाट कागजात मगाएर प्रतिवेदन तयार पार्दैछौं,’ पन्थीले भन्नुभयो, ‘अबको केही दिनमा मन्त्रालयमा पेश भएपछि गृहमन्त्रीज्यूले निर्णय गरेपछि जग्गा जफत हुन्छ ।’
सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैजनाथ उपाध्यायको इजलासले ३० साउन २०६९ मा पूर्वमन्त्री खड्कालाई भ्रष्टाचार कसुरमा दोषी ठहर गर्दै जग्गा जफत गर्ने फैसला सुनाएको थियो ।
उहाँको सानेपा रहेको १ रोपनी ६ आनाभन्दा बढी जग्गा जफत गर्नुका साथै २० लाख ५६ हजार ९८७ रुपैयाँ असुल उपर गर्नुपर्ने फैसलामा भनेको थियो । साढे २० लाख भने असुल उपर भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्