जनता टाइम्स

१ बैशाख २०८२, सोमबार ०७:१७

आईपीएल क्रिकेट : मुम्बईले दिल्लीलाई १२ रनले हरायो,राजस्थान बैङ्गलुरुसँग नौ विकेटले पराजित


काठमाडौं, १ वैशाख ।  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई हराएको छ ।

प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको दिल्लीलाई मुम्बईले १२ रनले हराएको हो । मुम्बईले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा सबै विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो ।

दिल्लीका करुण नायरले सर्वाधिक ८९ रन बनाए । अभिषेक पोरेलले ३३ रन जोडे । मुम्बईका करन शर्माले ३ र मिचेल सान्टनेरले २ विकेट लिए । त्यस अघि अरुण जेटली स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियो । मुम्बईका तिलक वर्माले ५९ रन बनाए ।

यस्तै रायन रिक्लट्नले ४१ र सूर्य कुमार यादवले ४० रन जोडे । दिल्लीका विपराज निगम, कुलदीप यादवले समान २ विकेट लिए । ५ खेलमा ८ अङ्क जोडेको दिल्ली अङ्क तालिकाको दोस्रो स्थानमा झरेको छ । मुम्बई ६ खेलमा ४ अङ्कसहित सातौं स्थानमा उक्लिएको छ ।

यस्तै हिजोको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैङ्गलुरुले राजस्थान रोयल्सलाई नौ विकेटले पराजित गरेको छ । राजस्थानले दिएको १७४ रनको लक्ष्य पछ्याएको बैङ्गलुरुले १७ ओभर ३ बलमा एक विकेट गुमाउँदै १७५ रन बनाएको हो। बैङ्गलुरुका ओपनर फिल साल्टले सर्वाधिक ६५ रन बनाए ।

विराट कोहलीले अविजित रहँदै ६३ रन जोडे । राजस्थानका कुमार कार्तिक्याले एक विकेट लिए । त्यसअघि सवाई मानसिंह स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १७३ रन बनाएको थियो ।

राजस्थानका ओपनर यशवी जैशवालले सर्वाधिक ७५ रन बनाए । रियान परागले ३० र धुर्व जिरेलले ३५ रन जोडे । बैङ्गलुरुका भुवनेश्वर कुमार, यश दयाल, जोश हजलउड र कुर्णाल पाण्ड्याले समान एक विकेट लिए ।

जीतसँगै तेस्रो स्थानमा फर्किएको बैङ्गलुरुले ६ खेलबाट आठ अङ्क पुर्‍याएको छ। समान खेलबाट राजस्थान चार अङ्कसहित सातौं स्थानमा छ।

आईपीएलमा आज लखनउ सुपर जायन्ट्स र चेन्नई सुपर किङ्स खेल्दैछन् ।