जनता टाइम्स

७ बैशाख २०८२, आईतवार ०९:१८

आजदेखि दुई अर्ब ५० करोडको ऋणपत्र बिक्री गर्दै राष्ट्रिय वाणिज्य बैंक


काठमाडौं, ७ वैशाख । राष्ट्रिय वाणिज्य बैंकले आजदेखि दुई अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । कूल २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट बैंकले स्वीकृति पाएको छ ।

कूल सात वर्षे अवधि भएको ऋणपत्रमा लगानी गर्नेले वार्षिक रुपमा सात प्रतिशत बराबर व्याजदर प्राप्त गर्नेछन् । अङ्कित मूल्य एक हजार रुपैयाँ दरको ऋणपत्रमा लगानीकर्ताले कूल २५ कित्तादेखि बिक्री गर्न लागिएको सम्पूर्ण कित्तामा नै आवेदन दिन सक्नेछन् । धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको ऋणपत्र छिटोमा यही वैशाख १० गते र ढिलोमा वैशाख २१ गतेसम्म रहनेछ ।

दुई अर्ब ५० करोड रुपैयाँ बराबरको कूल निष्काशन मध्ये ६० प्रतिशतले हुन आउने एक अर्ब ५० करोड रुपैयाँ मूल्य बराबरको १५ लाख कित्ता व्यक्तिगत प्रयोजनका लागि छुट्याइएको छ ।

यस्तै, ४० प्रतिशतले हुने एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता भने सर्वसाधारणका लागि निष्काशन हुनेछ । त्यसमा ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । कूल नौ लाख ५० हजार कित्तामा भने सर्वसाधारणले लगानी गर्न पाउने व्यवस्था गरिएको छ । बैंकलाई केयर रेटिङ नेपालले ‘केयर एनपी ए प्लस’ रेटिङ प्रदान गरिएको छ । बैंकको अधिकृत पूँजी ३० अर्ब रुपैयाँ, जारी पूँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ र चुक्ता पूँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ बराबर छ ।