जनता टाइम्स

८ बैशाख २०८२, सोमबार १८:५३

प्रेस चौतारीलाई दोस्रो हुने छुट छैन, युवालाई गणतन्त्र बुझाउने कामको नेतृत्व गर्नुपर्छ : निवर्तमान अध्यक्ष बस्नेत


काठमाडौं, बैशाख ८ । प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारीको नयाँ नेतृत्वलाई दोस्रो हुने छुट नरहेको बताउनु भएको छ ।

जनताले जितेको दिन लोकतन्त्र दिवसको अवसरमा बैशाख ११ गते आयोजना गरिएको युथ सेलिब्रेसनको बिषयमा सोमवार आयोजित उपत्यकास्तरीय बैठकमा सम्बोधन गर्दै निवर्तमान अध्यक्ष बस्नेतले यस्तो धारणा राख्नुभएको हो । प्रेस चौतारी नेपालले आफ्नो काम र अनुशासन पालनाको आधारमा नेकपा एमालेका जनसंगठनमध्ये पहिलो स्थान प्राप्त गरेको भन्दै अव हरेक अभियानमा दोस्रो हुने छुट नरहेको प्रष्ट पार्नुभयो ।

‘प्रेस चौतारी पराजीत हुनका लागि जन्मिएको संस्था होइन, यसलाई संगठनभित्रकै केही हरामखोर प्रबृत्ति र पार्टीभित्रका गलत तत्वले कहिलेकाँही कमजोर बनाउने काम गर्न सक्छन तर यो संगठन कहिल्यै पराजीत हुन्न । यो कुरा हामीले स्थापित गरेर आएका छौं, अव पनि त्यो बिराशत कायम राखेर काममा एक नम्बर बन्नैपर्छ, यसमा इफ वा बट भन्ने कुरा हुन्न,’ निवर्तमान अध्यक्ष बस्नेतले भन्नुभयो ।

उहाँले संगठनका सवै सदस्यहरु एकजुट बनेर नेतृत्वले प्रतिवद्धता गरेर आएअनुसारको संख्या पूरा गरेर आफ्नो तोकिएको जिम्मेवारी पूरा गर्नुपर्ने बताउनु भयो । ‘नेतृत्वको प्रतिवद्धता र योजनालाई पूरा गर्ने काम सवै सदस्यको हो । यो दायित्व पूरा गर्न सवै एकजुट बन्नोस,’ बस्नेतले भन्नुभयो । उहाँले अघिल्लो महिना मात्रै बिराटनगरमा सम्पन्न १०औं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गरेकोले कुनै गुट वा उपगुट नरहेकोले परिणाममुखी काममा ध्यान दिन नयाँ नेतृत्वलाई सुझाव पनि दिनुभयो ।

प्रेस चौतारी पराजीत हुनका लागि जन्मिएको संस्था होइन, यसलाई संगठनभित्रकै केही हरामखोर प्रबृत्ति र पार्टीभित्रका गलत तत्वले कहिलेकाँही कमजोर बनाउने काम गर्न सक्छन तर यो संगठन कहिल्यै पराजीत हुन्न । यो कुरा हामीले स्थापित गरेर आएका छौं, अव पनि त्यो बिराशत कायम राखेर काममा एक नम्बर बन्नैपर्छ, यसमा इफ वा बट भन्ने कुरा हुन्न

निवर्तमान अध्यक्ष बस्नेतले अहिलेको नेतृत्वलाई सफल बनाएर संगठनभित्र गुटबन्दी हुन नदिनेतर्फ आफूसहितका सवै पूर्वअध्यक्षहरु सचेत रहेको भन्दै त्यस्तो काम कोहीबाट भए पनि क्षमा दिन नसकिने बताउनु भयो । ‘मसहित पूर्वअध्यक्षहरुको तर्फबाट यो कार्यसमितिलाई पूर्ण साथ छ, आगामी दिनमा पनि रहन्छ । पूर्व र निवर्तमान अध्यक्षको नाममा कोही कसैले सुँड नछिराए हुन्छ । यो नेतृत्व हामी सवैको सहमतिमा सर्वसम्मत निर्वाचित भएको कारण जस्तोसुकै चुनौतीलाई पनि सहज रुपमा पार लगाउन सक्छ । हामी साथमै छौं,’ बस्नेतले भन्नुभयो ।

उहाँले अहिलेको युवा पुस्ता गणतन्त्र प्राप्तीको आन्दोलन र राजतन्त्रले गरेको अमानवीय कामबारे जानकार नभएकोले उनीहरुलाई बुझाउने काममा अव सवै पत्रकारदेखि साजनीतिक र सामाजिक कार्यकर्ता लाग्न जरुरी रहेको बताउनु भयो । सोही अभिभारा पूरा गर्न नेकपा एमालेले बैशाख ११ गते युथ सेलिब्रेशन आयोजना गरेको बताउँदै सो कार्यक्रममा हरेक युवालाई सहभागी गराउने कामलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो ।

‘जन्मजात अधिकारको कुरा आधुतिक र सभ्य समाजमा संभव छैन तर पनि मानिसहरु त्यस कुरामा भ्रममा परिरहेका छन । हामीले बुझाउन नसकेकै कारण उनीहरु राजतन्त्रको वकालत गर्न थालेका हुन । अव राजतन्त्र चाहियो भन्दै म मान्छे होइन दास बन्छु भन्नेहरुलाई पनि सम्झाउने र बुझाउने काम हामीले नै गर्नुपर्छ,’ बस्नेतले भन्नुभयो ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको अध्यक्षता र महासचिव हिरामान लामाले सञ्चालन गर्नुभएको कार्यक्रममा निवर्तमान अध्यक्ष बस्नेतले निर्वाचित हुनसाथ नयाँ नेतृत्वले गरेको काम प्रसंसनीय रहेको भन्दै अझ गति बढाउन सुझाव दिनुभयो ।

अहिलेसम्मको कामले आफूले नेतृत्व गरेको भन्दा राम्रो काम गर्न सक्छ भन्ने महाधिवेशनको समापनमा आफूले गरेको बिश्वासलाई बल पुगेको भन्दै आगामी दिनमा थप प्रमाणित गर्दै अघि बढन सुझाव दिनुभयो । यस्तै उहाँले संगठनले भनेको नमान्नेहरुलाई अनुशासनको दायराभित्र राख्ने कुरामा कन्जुस्याईं नगर्न पनि सुझाव दिनुभयो ।