काठमाडौं, बैशाख ११ । नेकपा एमालेले आज (वैशाख ११) लाई जनताले जितेको दिनको रुपमा राजधानी काठमाडौंमा युथ सेलिब्रेसन गर्दैछ ।
पछिल्लो समय पार्टी कमिटीमा क्लस्टर नै छुट्टयाएर युवा सहभागिता बढाउँदै आएको एमालेले बिहीबार एक लाख युवा भृकुटीमण्डप उतारेर सेलिब्रेशन गर्न लागेको जनाएको छ । आजको युथ सेलिब्रेसनमा ४० वर्षमुनिका युवा नै वक्ता राखिने राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले जानकारी दिनुभयो । थेवे कार्यक्रममा संयोज पनि हुनुहुन्छ ।
एमालेले आजको दिन युथ सेलिब्रेसनका रूपमा मनाउन झन्डै एक महिनादेखि तयारी थालेको थियो । महासचिव शंकर पोखरेलले आफै यसको संयोजन गर्नुभएको थियो । यहाँसम्मकी मञ्चमा बोल्ने वक्ताहरूको बुधबार रिहर्सलसमेत महासचिव पोखरेल आफैले गर्नुभएको थियो । सेलिब्रेशनमा एमालेले युवालाई आकर्षित गर्न विभिन्न कलाकार तथा सांगीतिक ब्यान्डहरूलाईसमेत मञ्चमा प्रस्तुत गर्ने भएको छ ।
एमालेले आज शान्ता रानी परियार, एलिना चौहान, पूर्ण राई एण्ड दाजुभाइहरू मञ्चमा उतार्न लागेको छ । त्यस्तै युवा पुस्तामाफ निकै रुचाइएका वाङदेन शेर्पा एन्ड द काउब्वाइज, द एलिमेन्ट्स, सुशान्त एन्ड रागा समेतले बिहीबार प्रस्तुति दिने कार्यक्रम रहेको संयोजक थेवेले जानकारी दिनुभएको छ ।
आजको उत्सवमा युवा उतार्न एमालेले क्लस्टर नै छुट्टयाएर मातहतका कमिटीलाई निर्देशन दिएको थियो । एमालेले वडा, पालिका कमिटीमा ३३ प्रतिशत युवा अनिवार्य गरेको छ । वैशाख ११ गते कमिटीमा भएका ती युवालाई अनिवार्य उपस्थित गराउन निर्देशन दिएको छ।
त्यस्तै जिल्ला कमिटीमा १५ र प्रदेश कमिटीमा १० प्रतिशत युवा निर्वाचित भएका छन । जिल्ला र प्रदेश कमिटीमा रहेका सबै युवालाई अनिवार्य आउन महासचिव शंकर पोखरेलले निर्देशन पठाउनु भएको थियो । स्थानीय जनप्रतिनिधिहरू मेयर, उपमेयर, पालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष सबैलाई वैशाख ११ अर्थात आज काठमाडौं आउन भनिएको छ । बागमती प्रदेशको हकमा भने एमालेले अलग्गै निर्देशन दिएको छ ।
२०७९ को स्थानीय, प्रदेश र प्रतिनिधिसभामा पार्टीका तर्फबाट उमेद्वार भएका समेतलाई युवा महोत्वसमा सहभागी हुन निर्देशन दिइएको छ । जनसंगठनहरूका केन्द्रीय कमिटीका सदस्यहरू र सबै महासंघहरूको घटक संगठनमा आबद्ध सदस्यहरूलाई पनि अनिवार्य उपस्थित हुन भनिएको एमालेले बताएको छ । सम्पर्क मञ्चका सबै तहका कमिटीमा आबद्ध ४० वर्षमुनिका युवालाई पनि सहभागिताको निम्ति निर्देशन दिइएको छ ।
युवाहरूलाई काठमाडौं ल्याउने र लैजाने कार्यको संयोजन गर्न पार्टी जिल्ला अध्यक्षहरूलाई निर्देशन दिइएको परिपत्रमा उल्लेख छ । कतिपय वडामा तोकिएको युवा संख्या कथम कदाचित पुगेन भने सम्बन्धित पालिकाको अन्य वडाबाट पूर्ति गर्न सकिनेछ तर तोकिएको कूल संख्यामा घटाउन नमिल्ने एमालेको निर्देशन छ ।
प्रतिक्रिया दिनुहोस्