काठमाडौं, १२ जेठ ।भारतको अनन्तनागको बिजबेहरास्थित गोरी क्षेत्रमा रहेको पहलगाम आक्रमणमा संलग्न स्थानीय आतंककारी आदिल हुसेन ठोकरको घरमा सुरक्षा बलले बम विस्फोट गराएको छ ।
आदिल ठोकर उर्फ आदिल गुरीको रूपमा पहिचान गरिएको आतंककारीलाई पहलगामको बैसरन उपत्यकामा मंगलबार भएको आक्रमणको योजना बनाउनुका साथै कार्यान्वयन गरेको आरोप लगाइएको छ ।
यस्तै आक्रमणमा संलग्न अर्का आतंककारी आसिफ शेखको घर जम्मू–कश्मीर प्रशासनले भत्काएको छ ।
सेनाको स्रोतका अनुसार चार लश्कर–ए–तैयबा (एलईटी) आतंककारीको समूह, स्टीलका गोलीहरू, एके–४७ राइफलहरू र शरीरमा क्यामेरा लगाएका आक्रमणकारीले मंगलबार जम्मू–कश्मीरको पहलगाममा हिन्दू पर्यटकहरूलाई लक्षित गरी गोली हानेका थिए । आतंकवादी हमलामा २६ जनाले ज्यान गुमाएका छन् ।
आतंककारीहरूमा दुई स्थानीय पनि रहेको जनाइएको छ । स्रोतका अनुसार आतंककारीमा बिजबेहराका आदिल हुसेन ठोकर र त्रालका आसिफ शेख रहेका छन् । सैन्य स्रोतका अनुसार आदिल २०१८ मा अटारी–वाघा सीमा हुँदै वैध रूपमा पाकिस्तान गएका थिए । पाकिस्तानमा रहँदा उनले आतंकवादी शिविरमा तालिम लिएर गत वर्ष जम्मू–कश्मीर फर्केका हुन् । पहलगाम आक्रमणका प्रत्यक्षदर्शीले आतंककारीहरू पश्तून भाषामा कुरा गरिरहेको बताए । आक्रमणमा संलग्न सबै आतंककारीहरू पाकिस्तानस्थित आतंकवादी संगठन लश्कर–ए–तैयबाका भएको स्रोतले जोड दिएको छ ।
यद्यपि, द रेजिस्टेन्स फ्रन्टले पनि यस आक्रमणको जिम्मेवारी लिएको छ । उसले टीआरएफ लश्कर–ए–तैयबाको एक अग्रणी आतंकवादी समूह भएको जनाएको छ । (एजेन्सीबाट
प्रतिक्रिया दिनुहोस्