जनता टाइम्स

१३ बैशाख २०८२, शनिबार ०७:२२

भारत र पाकिस्तानबीच मध्यस्थता गर्न तयार छौँ– इरान


काठमाडौँ, १३ वैशाख।  जम्मु–कश्मीरको पहलगाममा मंगलबार भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच मनमोटाव बढेको छ।उनीहरूले एकअर्काविरुद्ध कूटनीतिक कारबाही घोषणा गरेका छन्। जसप्रति संयुक्त राष्ट्र स‌ंघले समेत चिन्ता व्यक्त गरेको छ र दुवै देशलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ। यसैबीच इरानले आफू भारत र पाकिस्तानबीचको सुमधुर सम्बन्धका पक्षमा रहेको बताउँदै समस्या समाधानका लागि मध्यस्थता गर्ने प्रस्ताव गरेको छ।

इरानका विदेशमन्त्री अब्बास अरागचीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भारत र पाकिस्तानसँग इरानको शताब्दीऔँ पुरानो सांस्कृतिक र सभ्यताको सम्बन्ध र भाइचारा छ। हामी उनीहरूलाई सर्वोच्च प्राथमिकता दिन्छौँ। यो कठिन समयमा तेहरान (इरान) नयाँ दिल्ली (भारत) र इस्लामाबाद (पाकिस्तान) बीच राम्रो सम्बन्धका लागि मध्यस्थता गर्न तयार छ। यो फारसी कवि सादीले सिकाएको भावनाअनुरूप छ।’ उनले आफ्नो यो भावना कवितामार्फत पनि उल्लेख गरेका छन्।