जनता टाइम्स

१४ बैशाख २०८२, आईतवार १४:२६

इरानको बन्दरगाहमा भएको विस्फोटमा मारिनेको संख्या १८ पुग्यो


काठमाडौँ । दक्षिणी इरानको बान्दर अब्बास सहरको शाहिद राजाई बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या १८ पुगेको छ भने ८०० जनाभन्दा बढी घाइते भएको प्रशासनले जानकारी दिएको छ । विस्फोट शनिबार बिहान भएको थियो। विस्फोट यति शक्तिशाली थियो कि नजिकैका कार्यालयहरूका झ्यालहरू समेत फुटेका थिए ।

घटनास्थलबाट धेरै तस्बिर र भिडियोहरू बाहिर आएका छन्। मानिसहरू दौडिरहेको र धेरै मानिसहरू सडकमा घाइते अवस्थामा लडिरहेको देख्न सकिन्छ । शाहिद राजाई इरानको सबैभन्दा ठुलो व्यापारिक बन्दरगाह हो ।

विस्फोट के कारणले भयो भनेर अझै खुलेको छैन । सरकारकी प्रवक्ता, फातेमा मोहजेरानीले यसको कारण पत्ता लगाउन केही समय लाग्ने बताइन् । उनले भनिन्, ‘हालसम्म बन्दरगाहको कुनामा राखिएका कन्टेनरहरू विस्फोट भएको पत्ता लागेको छ । यसमा रहेका सम्भावित रसायनहरू विस्फोट भएको हुनसक्छ ।’