काठमाडौं, १५ बैशाख । अफगानिस्तानको उत्तरपश्चिमी सीमा हुँदै पाकिस्तान प्रवेश गर्ने प्रयास गरिरहेका ५४ आतंककारी मारिएको पाकिस्तान सेनाले आइतबार जनाएको छ।
विज्ञप्तिमा उल्लेख भएअनुसार, गत शुक्रबारदेखि आइतबारसम्म खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षाबलले एउटा ठूलो समूहको गतिविधि पहिचान गरेको थियो, जुन सीमा पार गर्न खोजिरहेको थियो।
सेनाले उक्त समूह विदेशी शक्तिहरूको निर्देशनमा पाकिस्तानभित्र उच्चस्तरीय आतंककारी गतिविधि सञ्चालन गर्ने उद्देश्यले प्रवेश गर्न खोजिरहेको स्पष्ट पारेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘यस्तो संवेदनशील समयमा भारतले पाकिस्तानमाथि बिना आधार आरोप लगाइरहेका बेला यस्ता क्रियाकलापले स्पष्ट सङ्केत गर्छ कि ती सशस्त्र समूहहरू कसको प्रभावमा सञ्चालित छन्।’
पाकिस्तानले सन् २०२१ मा अफगानिस्तानमा तालिबान सत्तामा फर्किएयता आफ्ना भूमिमा आक्रमण गर्दै आएका सशस्त्र समूहहरू अफगान भूमिमा लुकेर बसेको आरोप लगाउँदै आएको छ, जुन अफगान सरकारद्वारा अस्वीकार गरिँदै आएको छ।
यता, भारतले अप्रिल २२ मा कश्मीरमा भएको एक भीषण आक्रमणपछि पाकिस्तानमाथि सीमापार आतंकवादको आरोप लगाएको छ, जुन पाकिस्तानले खारेज गरेको छ।
पाकिस्तानी सेनाले उक्त कारबाहीमा ठूलो मात्रामा हतियार, विस्फोटक सामग्री र गोलीबारुद बरामद गरिएको जानकारी दिएको छ। शनिबार पनि सोही प्रान्तमा भएको भिडन्तमा १५ सशस्त्र व्यक्ति मारिएको र दुई सुरक्षाकर्मीको ज्यान गएको जनाइएको छ।
गृहमन्त्री मोहसिन नकवीले आइतबार लाहोरमा सञ्चारकर्मीसँग कुराकानीमा भने, ‘विदेशी शक्तिहरूको निर्देशनमा यी तत्वहरू पाकिस्तान प्रवेश गर्न प्रयास गरिरहेका थिए, जसलाई सुरक्षाबलले तीनै दिशाबाट घेरेर कारबाही गरे।’
उनले थप भने, ‘हालसम्मको सुरक्षाप्रक्रियामा यो सबैभन्दा ठूलो सफलता हो, यसअघि यति ठूलो सङ्ख्यामा तत्वहरू समाप्त गरिएको थिएन।’ पाकिस्तानी सरकारले अफगान सरकारलाई आतंकवादी समूहहरूलाई नियन्त्रणमा लिन पटक–पटक आग्रह गर्दै आएको भए पनि अफगान पक्षले त्यस्ता आरोप अस्वीकार गर्दै आएको छ। एएफपी
प्रतिक्रिया दिनुहोस्