जनता टाइम्स

१६ बैशाख २०८२, मंगलवार ०८:३५

नारायणगढ–बुटवल सडक खण्डको दाउन्नेमा बैशाख ३१ गतेसम्म राती सवारी आवागमन बन्द


काठमाडौं, वैशाख १६।  बुटवल सडकअन्तर्गतको नवलपरासी दाउन्ने खण्डमा सडक विस्तारका लागि आउँदो ३१ गतेसम्म रातमा गाडीको आवागमन बन्द गरिने भएको छ ।

यसअघि हिजोसम्म रातको ११ बजेदेखि बिहान ५ बजेसम्म गाडी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम हुँदै आएको थियो । आजदेखि यसलाई थप गरेर अबका १६ दिन अर्थात् आउँदो वैशाख ३१ गतेसम्म निरन्तरता दिइने भएको हो ।

नवलरासी ९बर्दघाट सुस्तापूर्व० का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार दाउन्ने क्षेत्रमा निर्माणकार्य थप केही दिन निरन्तर रहने र रातमा ६ घण्टा आवागमन बन्द हुनेछ ।

दाउन्ने खण्डमा भित्तातर्फ कटिङ गर्न बाँकी छ । यो कामलाई वर्षाअगावै सम्पन्न गर्नका लागि थप केही दिन आवागमन बन्द गरेर काम गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो ।

यात्रु र चालकले निरन्तर सास्ती भोग्दै आएका छन् । अहिले दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले बताउनुभयो ।

नारायणगढ–बुटवल सडकको एक सय १४ किलोमिटरअन्तर्गत गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ र जोखिम बढी रहेको क्षेत्र दाउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम चलिरहेको छ ।

१७ अर्ब रुपैयाँ लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले हालसम्म तीनपटक म्याद थपिसकेको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि तेस्रोपटक थप भएको म्याद २०८२ साउन ८ गतेसम्म रहेको छ ।