जनता टाइम्स

१८ बैशाख २०८२, बिहीबार १४:१७

लगानीकर्ता र निजी क्षेत्रको वारेस बन्न प्रदेश सरकार तयार, ढुक्कले लगानी गर्नाेस : मुख्यमन्त्री कार्की


बिराटनगर, बैशाख १८ । कोशी प्रदेशको लगानी सम्मेलन सुरु भएको छ । कोशी प्रदेश सरकारको आयोजनामा दुई दिनसम्म चल्ने लगानी सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।

कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार लगानीकर्ता र निजी क्षेत्रको वारेस बन्न तयार रहेको बताउनुभयो । उहाँले कोशी प्रदेशमा आएका लगानीलाई सुरक्षित गर्न र लगानीका लागि भएका झञ्झटहरु अन्त्य गर्न प्रदेश सरकारले विभिन्न ८ वटा कानुनहरू अध्यादेशमार्फत संशोधन गरेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारबाट हुने कामहरू तुरुन्तै गरिने र संघीय वारेस बनेर सहजीकरण गर्ने बताउनुभयो । उहाँले कोशी प्रदेश लगानी सम्मेलनलाई लिएर निजी क्षेत्र उत्साहित रहेको बताउनुभयो ।

कोशी प्रदेश लगानी सम्मेलनमा विभिन्न ८ वटा क्षेत्रका ७१ वटा परियोजना सोकेसमा राखिएको छ । एक वर्षसम्म निरन्तर निजी क्षेत्रसँग समन्वय र छलफल पछि परियोजनाहरू छनोट गरिएको उहाँले बताउनुभयो ।