जनता टाइम्स

२५ बैशाख २०७६, बुधबार ०८:०१

सुरक्षाकर्मीकै सेटिङमा सिरहा नाकाबाट भइरहेछ तस्करी


शुभनारायण कामती/सिरहा

सिरहाको विभिन्न नाका भएर तेस्रो मुलुकबाट आयात भएको केराउ (मटर) सुरक्षाकर्मीकै सेटिङमा भारततर्फ तस्करी भइरहेको तथ्य खुलेको छ । प्रदेश २ का प्रहरी नायव महानिरीक्षक (डिआइजी) हरिबहादुर पालको निर्देशनमा सिरहा नगरपालिकाको सीमा क्षेत्रबाट ठूलो परिमाणमा केराउ बरामद भएपछि यस्तो खुलासा भएको हो ।

प्रदेश प्रहरी कार्यालय जनकपुरबाट सिरहा पुगेर २५ किलोग्रामको २ सय ७० बोरा र ५० किलोग्रामको १ सय ७० बोरा गरी १५२.५ क्वीन्टल केराउ सोमबार सिरहा नगरपालिका– १७ स्थित सञ्जिब साहको गोदामबाट भारततर्फ लैजान लागिएको अवस्थामा बरामद गरिएको हो । बरामद केराउको मूल्य ९ लाख १५ हजार रहेको र यस विषयमा मंगलबार नै सूचना निकाली सकेको भन्सार कार्यालय माडरका सूचना अधिकारी सुमित गुप्ताले बताउनु भयो ।

केराउ तस्करीबारे सिरहा प्रहरीमा विशेष जानकारी हुनुपर्ने हो । होला पनि । तर जनकपुरबाट पुगेको प्रहरी टोलीले केराउ बरामद गरेपछि सिरहा प्रहरीसंग तस्करको सेटिङ मिलेको प्रष्ट हुन्छ । स्रोतका अनुसार सिरहा प्रहरीलाई सूचना दिएपनि पक्राउ नगर्ने गरेको सूचनाका आधारमा डिआइजी पालले नै टोली पठाउनु भएको हो । सोही कारण सिरहाकै ब्यक्तिले प्रदेश प्रहरीलाई सूचना उपलब्ध गराएर केराउ पक्राउ गर्न लगाएको प्रहरी स्रोतको भनाई छ ।

सिरहाको बरियारपट्टी, माडर, झाझपट्टी र ठाडी नाकाबाट केराउको तस्करी खुलेयाम भइरहेको छ । प्रहरीसँगको सेटिङमा सिरहाका सयौं ब्यक्तिले अहिले तस्करीलाई आफ्नो व्यावसाय बनाएका छन । उनीहरु सिमा क्षेत्रमा कोठा भाडा लिएर गोदाम बनाएर तस्करी गर्दे आएका हुन । उनीहरु लहानबाट दिनदहाडै केराउ ढुवानी गरी गोदाम भर्छन र रातभर भारत कटाउँछन ।

केराउ तस्करीमा सिमामा खटेका भारतीय सुरक्षा अधिकारीको पनि मिलोमतो रहेको पाइएको छ । एसएसबीको मिलोमतोबिना तस्करी सम्भव नरहेको एक व्यापारीले नाम उल्लेख नगर्ने सर्तमा जनताटाइम्सलाई बताए । तस्करी भइरहेको केराउ पनि चाइनिज हो । भारतमा केराउको भाउ उच्च रहेको छ, सोही कारण चाइनिज केराउ नेपालहुँदै भारत तस्करी भइरहेको हो ।

स्थानीय प्रहरीकै सेटिङमा तस्करी भइरहेको सूचना पाएपछि डिआइजी पालले जनकपुरबाटै विभिन्न जिल्लामा टोली पठाएर अप्रेशन थालेको बुझिएको छ । स्रोतका अनुसार सेटिङमा रहेका प्रहरीलाई कारवाही गर्ने प्रदेश प्रहरी कार्यालयले तयारी गरेको छ । स्रोतका अनुसार नेपालबाट मदिरा, चाइनिज स्याउ, सुपारी, मरिचलगायतका सामान भारततर्फ जान्छ भने भारतबाट खानेतेल, चिनी, लताकपडा, मेसेनरी सामानलगायत रजनी गन्धा, गुटखा, सुर्तिजन्य समानहरु नेपाल भित्रने गरेको छ ।

यसैबीच बरामद गरिरहेको अवस्थाको पत्रकारहरुले फोटो लिन खोज्दा नेपाल प्रहरीले रोक लगाएका थिए । नेपाल प्रहरीले पत्रकारलाई धम्की दिँदै भने, ‘म कस्ता कस्ता पत्रकारलाई देखिसके तिमीहरुलाई ठीक हुँदैन, ‘फोटो खिच्न पाइदैन भन्दैछु ।’ त्यसपछि पत्रकारहरुले जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी माधवराज खरेलसँग सम्पर्क गर्दा ‘प्रहरीले नियन्त्रणमा लिएको समानमा कहाँ पत्रकारको फोटोसोटो खिच्ने अधिकार छ, म भरै फोटोसोटो लिएर पठाई दिउँला’ भन्दै पन्छिनु भयो ।

जिल्ला प्रशासन कार्यालय सिरहाका प्रजिअ (सिडियो) रुद्रप्रसाद पण्डितले भने जिल्ला प्रहरी प्रमुखसँग कुरा गर्ने बताउनु भयो । ‘मेरो मान्छे छैन त्यहाँ, म एसपीसँग कुरा गर्छु, त्यसपछि केही होला,’ उहाँको भनाई थियो । पत्रकारहरुले डिआईजी पालसँग सम्पर्क गर्दा मात्रै फोटो खिच्न पाएका थिए । सिरहामा केही पत्रकारहरुले मिशन बोर्डर शुरु गरेकोमा हालसम्म सीमा अतिक्रमण, तस्करी तथा लुटपाटको घटना निरन्तर लेख्दै आएको छ । सोही कारण नाकाका प्रहरीले प्रहरीलाई फोटो खिच्नमा समेत रोक लगाउँदै आएको छ । नाकाबाट तस्करी बढेपछि प्रहरीसमेत जनताबाट आलोचित बन्न थालेको छ ।