जनता टाइम्स

१६ कार्तिक २०७६, शनिबार १०:०४

एमसीसीको टोली आज नेपाल आउदै (यस्तो छ खेलतालिका)


काठमाडौं, कात्तिक १६

विश्वकै पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) आज नेपाल आउदैछ । ६ वटा म्याच खेल्न एमसीसीको टोली आज अपरान्ह नेपाल आइपुग्न लागेको हो । दोस्रो पटक घरेलु मैदानमा स्वागत गर्न लागेको नेपालले एमसीसीसँग एकदिवसीय र टि–ट्वान्टी खेल खेल्नेछ ।

यसअघि नेपालले २०१५ मा एमसीसीसँग घरेलु मैदानमा प्रतिस्पर्धा गरेको थियो । एमसीसीले भ्रमण गरेपछि २०१८ मा नेपालले एमसीसीको घरेलु मैदान लर्डसमा खेलेको थियो । आईसीसीको समन्वयमा नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना हुन लागेको सिरिजमा नेपालले दोस्रो पटक घरेलु मैदानमा एमसीसीसँग खेल्ने अवसर पाएको छ । समग्रमा तेस्रो पटक एमसीसीसँग भिड्न लागेको नेपालले एकदिवसीय र टि–ट्वान्टी खेल्नेछ ।

सिरिजका लागि नेपालले बिहिबार ज्ञानेन्द्र मल्लको कप्तानीमा टि–ट्वान्टी, एकदिवसीय र फर्स्ट क्लास गरी ३ टोली घोषणा गरिसकेको छ । आइतबार नेपालको यु–१९ टोलीले एमसीसीसँग एकदिवसीय खेल खेल्नेछ ।

सोमबार नेपालको राष्ट्रिय टोली र एमसीसीसँग एकदिवसीय खेल हुनेछ । दुई दिनको आरामपछि बुधबारबाट शुक्रबारसम्म नेपाल र एमसीसीबीच ३ एकदिवसीय खेल हुनेछ । जसमा नेपालको फर्स्ट क्लास टोली सहभागी हुनेछ । २३ गते शनिबार नेपालको यू–१९ र मिश्रित राष्ट्रिय टोली र एमसीसीबीच टि–ट्वान्टी खेल हुनेछ ।

काठमाडौंका खेलपछि एमसीसीको टोलीले पोखरा भ्रमण गर्नेछ । पोखरा भ्रमणका क्रममा नेपालले २ खेल खेल्ने बताइएको छ । नेपाल आउन लागेको एमसीसीको टोली भने जिम्मी एडम्सको कप्तानीमा छ । एडम्ससँगै टोलीमा यासिर अराफात, बिली गोड्लीमन, मिल्स हम्मोड, ओलिभर हानोन डाल्बे, कलम ज्याक्सन, विल रोड्स, एलेक्स स्पेन्सेर, एलेक्स थोमसन, विल भेन्देरस्पेर, एड योङ, टम वेस्ट्ले र क्रिस राइट छन् ।