जनता टाइम्स

२२ बैशाख २०८२, सोमबार ०७:२७

खाडी राष्ट्रका नेताहरूसँग उच्चस्तरीय भेटघाट गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको तयारी


काठमाडौं, २२ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबको रियादमा गल्फ सहयोग परिषद् (जीसीसी) का सदस्य राष्ट्रका नेताहरूसँग भेटघाट गर्ने तयारी गर्नुभएको छ ।

यही ‘मे’ महिनामा ट्रम्पले खाडी राष्ट्रका नेताहरूसँग उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको साउदी सरकारले जनाएको छ ।‘मे’ १३ देखि १६ सम्म हुने यो भ्रमणमा राष्ट्रपति ट्रम्प साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्स पुग्ने बीबीसीले जनाएको छ ।

यो भ्रमण उहाँको दोस्रो कार्यकालको पहिलो आधिकारिक विदेश भ्रमण हुनेछ । जीसीसीमा साउदी अरब, यूएई, बहराइन, कतार, कुवेत र ओमान समावेश छन् । बैठकको उद्देश्य राजनीतिक तथा आर्थिक सहकार्यलाई सुदृढ बनाउनु रहेको छ । यात्राको पूर्वसन्ध्यामा, अमेरिकी सरकारले साउदी अरबसँग साढे ३ अर्ब अमेरिकी डलर बराबरको मिसाइल बिक्री सम्झौता स्वीकृत गरेको छ ।

राष्ट्रपति ट्रम्पले साउदी अरबसँग भएका ठूला व्यापारिक सम्झौताहरूको चर्चा गर्दै आउनुभएको छ । साउदी अरबले हालैका वर्षहरूमा रसिया–युक्रेन विषयमा अमेरिकी कूटनीतिमा सकारात्मक भूमिका खेलेको छ ।