जनता टाइम्स

२२ बैशाख २०८२, सोमबार ०७:४१

वैदेशिक रोजगारीका नाममा ठगी, बस्नेतदेखि खडकाथोकीसम्म पक्राउ


काठमाडौं, बैशाख २२ । वैदेशिक रोजगारीका नाममा विभिन्न देश पठाइदिन्छु भन्दै लाखौं रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौं उपत्यकाबाट तीन जनालाई पक्राउ गरेको छ ।

पीडितहरूले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा उनीहरूले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी लामो समयसम्म झुक्याउँदै विदेश नपठाई सम्पर्कविहीन भएको खुलेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ मा बसोबास गर्ने ३६ वर्षीय जितेन्द्र बस्नेत छन् ।

उनले क्रोएसिया पठाइदिन्छु भन्दै एक जनाबाट पाँच लाख रूपैयाँ असुलेका थिए । उनलाई वैशाख १९ गते काठमाडौं महानगरपालिका–९ बाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । त्यस्तै, उदयपुरको उदयपुरगढी गाउँपालिका–६ का स्थायी ठेगाना भई काठमाडौं महानगरपालिका–१५ मा बस्दै आएका थिए ३६ वर्षीय नरेन्द्र बहादुर तामाङ पनि पक्राउ परेका छन् । उनले यूएई पठाइदिन्छु भन्दै दुई जनाबाट तीन लाख रूपैयाँ ठगेको प्रहरीले जनाएको छ । उनलाई पनि वैशाख १९ गते काठमाडौं महानगरपालिका–२२ बाट पक्राउ गरिएको छ।

तेस्रो पक्राउ पर्ने व्यक्ति स्याङ्जाको वालिङ नगरपालिका–७ का ५६ वर्षीय नरबहादुर खड्काथोकी हुन्। हाल काठमाडौं महानगरपालिका–२६ मा बस्दै आएका उनले पोर्चुगल पठाइदिन्छु भन्दै एक जनाबाट चार लाख पैँसट्ठी हजार रूपैयाँ लिएको खुलेको छ ।

उनलाई वैशाख आइतबार काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताउनुभएको छ । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।