काठमाडौं, २२ वैशाख । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मेडिकल व्यवसायी तथा राजावादी अभियानमा संलग्न दुर्गा प्रसाईंँग बैंकिङ कसुरसम्बन्धी मुद्दामा बयान लिन सुरु गरेको छ । सोमबार ब्युरोले उच्च सरकारी वकिल कार्यालयमा झिकाएर उनीसँग बयान लिन सुरु गरेको ब्युरोका एसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।
‘जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका उनलाई उच्च सरकारी वकिल कार्यालयमा झिकाएर आजदेखि बयान लिन सुरु भएको छ’, उहाँले भन्नुभयो, ‘आवश्यकताअनुसार थप बयान हुँदैजान्छ ।’सीआईबीका अनुसार उनले विभिन्न बैंकबाट करिब ५ अर्ब ऋण लिएका छन् । तर उनले जुन प्रयोजनका लागि ऋण लिएका हुन् त्यसविपरीत प्रयोग गरेर बैंकिङ कसुर गरेको अनुसन्धानबाट खुलेको छ ।
उनले लिएको ऋणको अहिले ब्याजसहित करिब ७ अर्ब पुगेको बताइएको छ । अहिले यस सम्बन्धमा बैंकिङ कसुर मुद्दामा मात्रै अनुसन्धान भइरहेको र पछि सम्पत्ति सुद्धिकरणमा पनि अनुसन्धान हुन सक्ने प्रहरी अधिकारी बताउँछन् । चैत १५ मा राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा उनी केही साताअघि भारतबाट पक्राउ परेका थिए । उनलाई नेपाल ल्याएर अहिले जिल्ला प्रहरी परिसरले भने राज्य विप्लवको मुद्दामा अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्