जनता टाइम्स

२३ बैशाख २०८२, मंगलवार ०७:२१

इजरायली मन्त्रिपरिषद्बाट गाजामा सैन्य अभियान विस्तार गर्ने योजना स्वीकृत, मानवीय सङ्कट थप चर्किने चिन्ता


काठमाडौं, २३ वैशाख।  इजरायली मन्त्रिपरिषद्ले गाजामा सैन्य कारबाही विस्तार गर्ने योजना स्वीकृत गरेको छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएको योजनाले गाजाको केही भूभागलाई नियन्त्रणमा लिने र त्यहाँका नागरिकहरूलाई दक्षिणतर्फ स्थानान्तरण गर्ने प्रस्ताव समेटेको अधिकारीहरुले बताएका छन् ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अन्य मन्त्रीहरू सम्मिलित मन्त्रिपरिषद्ले सर्वसम्मतिमा यो योजना पारित गरेको हो । यस योजनाको उद्देश्य गाजामा रहेको प्यालेस्टाीनी विद्रोही समूह हमासलाई परास्त गर्नु र बन्धकहरूलाई मुक्त गराउनु हो । तर कतिपयले यो कदमले बन्धकहरूको ज्यानलाई अझ जोखिममा पार्ने बताएका छन् ।

यसका लागि इजरायली सेनाले हजारौं सञ्चित सैनिकहरूलाई पुनः बोलाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घ र विभिन्न सहायता संस्थाहरूले गाजामा गम्भीर मानवीय सङ्कटबारे निरन्तर चेतावनी दिँदै आएका बेला इजरायलको यो निर्णय आएको हो । अधिकारीहरुले अब मानवीय सङ्कट थप चर्किने चिन्ता व्यक्त गरिरहेका छन् । गाजामा दुई महिनादेखि जारी पूर्ण नाकाबन्दीका कारण पुनः भोकमरीको सम्भावना देखिएको छ ।

गएको मार्च ५ देखि इजरायली सेनाले गाजामा पुनः ठूलो कारबाही शुरू गरेको हो । त्यसयता इजरायली आक्रमणमा कम्तीमा दुई हजार चार सय ३६ जनाको ज्यान गएको गाजामा सञ्चालित स्वास्थ्य निकायले जनाएको छ ।