वासिङ्टन डीसी । ट्रम्प प्रशासन र हार्वर्ड विश्वविद्यालयबिचको विवाद घट्ने कुनै संकेत छैन । ट्रम्प प्रशासनले अब हार्वर्ड विश्वविद्यालयलाई कुनै पनि नयाँ अनुदान नदिने घोषणा गरेको छ । नियमहरूको पालना नभएसम्म प्रतिबन्ध जारी रहने ह्वाइट हाउसल बताएको छ । शिक्षा मन्त्रालयले हार्वर्डका अध्यक्षलाई लेखेको पत्रमा कारबाहीको रूपरेखा बताइएको छ ।
ट्रम्प प्रशासनले हालै हार्वर्ड विश्वविद्यालयको लागि स्वीकृत २ खर्ब २० करोड डलरको अनुदान र ६ करोड डलरको सम्झौता रोकेको थियो । हार्वर्ड विश्वविद्यालयले राजनीतिक, वैचारिक र आतंकवादलाई समर्थन गर्ने विचारहरूलाई निरन्तर प्रवद्र्धन गरिरह्यो भने, यसको कर छुट खारेज समेत गरिने ट्रम्पले भनेका थिए । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म टुथ सोसलमा पोस्ट गर्दै लेखेका छन्, ‘यदि हार्वर्डले यसरी नै काम गरिरह्यो भने, यसलाई राजनीतिक संस्थाको रूपमा व्यवहार गरिनुपर्छ र कर लगाउनुपर्छ ।’
हार्वर्डले विश्वविद्यालयले जिम्मेवारी नदेखाएसम्म अनि कयौँ विषयमा संघीय मागहरू पूरा नगरेसम्म कुनै पनि नयाँ संघीय अनुदान प्राप्त नगर्ने शिक्षा मन्त्रालयका एक अधिकारीले भनेका छन् । यो कुरा संघीय अनुदान अनुसन्धानमा लागू हुने बताइएको छ । अधिकारीहरूले हार्वर्डलाई चार क्षेत्रमा गम्भीर असफलताको आरोप लगाएका छन् । यसमा प्रत्यक्ष रूपमा यहूदी विरोधी भावना, जातीय भेदभाव, कठोरताको त्याग र दृष्टिकोणको विविधता समावेश थियो । नयाँ अनुदानको लागि योग्य हुन, हार्वर्डले संघीय सरकारसँग वार्ता सुरु गर्नुपर्नेछ र प्रशासनको मागहरू पूरा गरेको प्रमाणित गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्