जनता टाइम्स

१६ कार्तिक २०७६, शनिबार १७:०९

हडपिएका सार्वजनिक जग्गा फिर्ता ल्याएरै छाडने उपप्रम पोखरेलको उदघोष


काठमाडौं, कात्तिक १६ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अतिक्रमण गरिएका सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याएरै छाडने घोषणा गर्नुभएको छ । धुम्बाराहीमा धन्वन्तरी पार्कको आज उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले सो घोषणा गर्नुभएको हो ।

उहाँले अहिले अतिक्रमण गरिएका सार्वजनिक जग्गामा बगैँचा, खुला ठाउँ र मनोरञ्जन स्थल बनाइने जानकारी पनि दिनुभयो । उहाँले सार्वजनिक सम्पत्ति जनताको भएकाले संरक्षणमा जनता जुट्नुपर्ने बताउनुभयो । “स्थानीय तह र जनता मिलेर अतिक्रमण गरिएका जग्गा खोज्नुपर्दछ,’ उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, ‘जनता सक्रिय भएमात्र सम्पत्तिको संरक्षण हुन्छ ।’ यसैगरी प्रदेश नं ३ का प्रदेशसभा सदस्य नारायण सिलवालले सार्वजनिक जग्गामा पार्क निर्माण गरेर संरक्षण गर्ने भन्दै धन्वन्तरी पार्क यसैको शुरुआत भएको बताउनुभयो ।

उहाँले प्रदेश सरकारले पार्कको स्तरोन्नतिमा सहयोग गर्ने उल्लेख गर्नुभयो । सङ्घीय संरचनामा जाँदा विकासका काममा केही ढिलाइ भएको भन्दै उहाँले अहिले विकासका कामले गति लिएको बताउनुभयो । उक्त पार्क प्रदेश सरकारको बजेट र धुम्बाराही धन्वन्तरी क्लबको करीब रु १२ लाख ५० हजारमा निर्माण गरिएको वडा नं ४ का वडाध्यक्ष मोहन विष्टले जानकारी दिनुभयो ।