जनता टाइम्स

३० बैशाख २०८२, मंगलवार १६:२२

नेपाल हङकङसँग ७ विकेटले पराजित


काठमाडौं, ३० वैशाख । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ ।
थाइल्यान्डको एआईटी ग्राउन्टमा नेपालले दिएको ३० रनको लक्ष्य हङकङले ४ ओभर ३ बलमा ३ विकेट गुमाएर भेटायो । हङकङकी शनजीन शाहजादले नटआउट १५ रन बनाइन् । नेपालकी कविता कुँवरले २ विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५ ओभरमा ३ विकेट गुमाएर २९ रन बनायो । दिउँसो सवा १२ बजे शुरू हुनुपर्ने खेल वर्षाका कारण प्रभावित भएपछि ५ ओभरमा झारिएको हो । नेपालकी सम्झनाकुमारी खड्काले सबैभन्दा धेरै १० रन बनाइन् । हङकङकी मे वे सुले ३ विकेट लिइन् ।

यसअघिको खेलमा नेपालले बहराइनलाई ९ विकेटले हराएको थियो । यस्तै नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । नेपालले पर्सि बिहीवार फेरि बहराइनसँग खेल्नेछ ।

महिला टी–२० विश्वकप एशिया छनोटमा ९ वटा टिम सहभागी छन् । नेपाल, बहराइन र हङकङ समूह ‘सी’ मा छन् । यस्तै समूह ‘ए’ मा भुटान, कुवेत र आयोजक थाइल्यान्ड तथा समूह ‘बी’ मा मलेशिया, कतार र यूएई छन् ।

प्रतियोगितामा हरेक समूहका शीर्ष टोली ‘सुपर थ्री’ मा पुग्नेछन् । ‘सुपर थ्री’ मा शीर्ष २ मा रहने टोली ग्लोबल छनोट चरणमा पुग्नेछन् ।