जनता टाइम्स

६ जेष्ठ २०८२, मंगलवार १४:०४

मन्त्रिपरिषद बैठकअघि अर्थमन्त्रीले डाके गभर्नर सिफारिश समितिको बैठक, आज होला त गभर्नरको नियुक्ति ?


काठमाडौं, जेठ ६ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गभर्नर छनोट सिफारिस समितिको बैठक बोलाउनु भएको छ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले गभर्नर नियुक्तिमा उल्झिएका बेला अर्थमन्त्री पौडेलले मंगलबार दिउँसो समितिको बैठक बोलाउनु भएको हो ।

मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक बोलाउनु भएकोले गभर्नर नियक्तिका लागि सिफारिश गर्न अर्थमन्त्रीले समितिको बैठक बोलाउनु भएको हो ।

सो समिपतले सिफारिस गरेपछि मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गर्नेछ । गभर्नर छनोटका लागि सरकारले केही दिनअघि अर्थमन्त्री पौडेलको संयोजकत्वमा नयाँ सिफारिस समिति गठन गरेको थियो ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघिको सिफारिस समिति खारेज गरेर पुनः नयाँ समिति गठन गरेको हो । अर्थमन्त्री पौडेलको संयोजकत्वमा गठित नयाँ समितिमा पूर्वगभर्नरमध्येबाट महाप्रसाद अधिकारी र विज्ञ सदस्यमा पोषराज पाण्डे रहनुभएको छ ।

यसअघिको समितिका विज्ञ सदस्य विश्व पौडेलको राजीनामा पछि सो पदमा पाण्डे आउनु भएको हो । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)को व्यवस्थाअनुसार यसअघि गत चैत ११ गते सरकारले गभर्नर सिफारिस समिति गठन गरेको थियो ।

एक महिनासम्म पनि बैठक नबसेको, गभर्नर छनोटमा समितिको भूमिका नरहेको भन्दै सुरुको समितिका सदस्य पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिनुभएको थियो । त्यसपछि भट्टराईको स्थानमा सरकारले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सदस्य नियुक्त गरेको हो ।

कांग्रेस र एमालेबीच विश्व पौडेललाई गभर्नर बनाउने सहमति भएको बताइएको छ । सोहीकारण पौडेलले समितिबाट राजीनामा दिनुभएको थियो । गत चैत २५ गते देखि राष्ट बैंकमा गभर्नर पद खाली छ । कामु गभर्नरको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई दिइएको छ ।